खेल

एसियाड खेल्ने खेलाडीलाई काठमाडौं तेक्वान्दोको प्रोत्साहन

चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोमा सहभागी हुने काठमाडौं जिल्लाका खेलाडीलाई काठमाडौं जिल्ला तेक्वान्दो संघले प्रोत्साहन स्वरुप ट्रयाकसुट र टिसर्ट प्रदान गरेको छ।

काठमाडौं जिल्लाबाट आयशा लामा र अन्जली तामाङ एसियाडमा सहभागी हुँदै छन् । सोही अवसरमा तेक्वान्दो टोलीका प्रशिक्षकत्रय टीकाबहादुर लिम्बू, कविराज खड्गी र कुमार लामा घिसिङलाई पनि ट्रयाकसुट र टिसर्ट प्रदान गरिएको थियो।

काठमाडौं जिल्ला तेक्वान्दो संघले आफ्नै नवनिर्वाचित पदाधिकारीको परिचयात्मक कार्यक्रम तथा तेक्वान्दो डोजाङ÷स्कुलका प्रमुखलाई धन्यवादज्ञापन गर्न आयोजित कार्यक्रममा एसियाडमा सहभागी हुने उनीहरुलाई ट्रयाकसुट र टिसर्ट प्रदान गरिएको हो ।

तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले उनीहरुलाई ट्रयाकसुट हस्तान्तरण गरे।

कार्यक्रममा मेयर महर्जनले तार्केश्वर नगरपालिकाले चालू आर्थिक वर्षमा खेलकुदका लागि १ करोड बजेट विनियोजन गरेको बताउदै हरेक स्थानिय तहले राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने महत्वपूर्ण माध्यम मध्येको एक खेलकुदलाई विशेष प्राथमिकता दिनु पर्नेमा जोड दिए।

अध्यक्ष खड्गीले काठमाडौं जिल्ला तेक्वान्दो संघको नयाँ कार्यसमितिको एक मात्र उद्देश्य निस्वार्थ ढंगले तेक्वान्दोको विकास र विस्तारमा लाग्नु रहेको बताए।

कार्यक्रमका दौरान खेल खेल्ने क्रममा घाइते भएका युन्सुब तेक्वान्दो डोजोङका खेलाडी आयुशसिंह ठकुरीको उपचार गर्न आर्थिक सहयोगका लागि आह्वान गरिएको थियो । सो क्रममा मेयर महर्जन र नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले समान १०–१० हजार तथा धर्मस्थली तेक्वान्दो डोजाङका प्रमुख सानुबाबु महर्जनले ५ हजार आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित: २० श्रावण २०८० १२:५१ शनिबार

१९ औं एसियाली खेलकुद काठमाडौं जिल्ला तेक्वान्दो संघ आयशा लामा अन्जली तामाङ