खेल

पहिलो पटक पम्प ट्य्राक फेस्ट हुँदै

नेपालमा पम्प ट्रयाक रेसको प्रवर्धन गर्ने उद्देश्यले पहिलो पटक भेलोसिटी पम्प फेस्ट आगामी शनिबार हुने भएको छ।

स्विचब्याक नेपाल र हिमाल सिंगल ट्य्राकको संयुक्त आयोजनामा एकदिने भेलोसिटी पम्प फेस्ट आगामी शनिबार हुन लागेको हो। पेडल नचलाई साइकलमार्फत मानवनिर्मित ट्य्राकमा उकालो ओरालो गर्ने रोचक कला हो पम्प ट्य्राक। पम्प ट्य्राक गतिको एक रोचक प्रतियोगितामा राइडरहरू एकअर्कासँग प्रतिस्पर्धा गर्दछन्। उक्त पम्प ट्य्राक फेस्टिभल ललितपुरको वडा–१ स्थित गुसिगंलको बाग्मती किनारमा हुनेछ।  

यो ट्य्राक नोभेम्बर २०२२ मा स्विस कम्पनी भेलोसोलुसनको परोपकारी कार्य ‘पम्प फर पिस’मार्फत निर्माण गरिएको थियो। भेलोसोलुसन विश्वभर पम्प ट्य्राक र साइक्लिङ ट्रेलहरू निर्माण गर्ने विशेषज्ञ हुन्। रेसमा किड्स (बालबालिका ११ वर्षदेखि १४), युवा (१४ देखि १६ वर्ष), जुनियर राइडर (१७ वर्षसम्म), एलिट र मास्टर्सतर्फ महिला र पुरुष विधामा प्रतिस्पर्धा हुनेछ। दुई सय ५० मिटर दूरीमा पेडल नचलाई सबैभन्दा कम समयमा पार गर्ने विजेता घोषणा हुनेछन्। एलिट र मास्टर्सका विजेताले विभिन्न गिफ्ट ह्याम्पर पाउनेछन्।  

करिब ७० जनाले उक्त फेस्टिभलमा सहभागिता जनाउने आयोजक स्विचब्याक नेपालका सेल्स एन्ड मार्केटिङ प्रमुख कुशल ओझाले जानकारी दिए। प्रत्येक विधामा तीन शीर्ष विजेतालाई उपहारहरू प्रदान गरिनेछ। एलिटतर्फ नगद पुरस्कारको पनि व्यवस्था छ। कार्यक्रमलाई जायन्टले मुख्य प्रायोजन गरेको छ। जायन्ट उच्च गुणस्तरको साइकल र साइक्लिङ गियर उत्पादन गर्ने ब्रान्ड हो।

प्रकाशित: १७ श्रावण २०८० ०१:३७ बुधबार

पहिलो पटक पम्प ट्य्राक फेस्ट हुँदै