खेल

बंगलादेशसँग मैत्रीपूर्ण फुटबल हुने

काठमाडौं- एएफसी यु–२३ छनोट प्रतियोगिताको तयारीमा रहेको नेपाली टोलीले असार २७ गते सातदोबाटोस्थित एन्फा मुख्यालयमा बंगलादेशको युवा टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

छनोट प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपालले युनाइटेड अरब इमिरेट्स (युएई), उज्वेकिस्तान र लेबनानसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले पहिलो खेलमा युएईसँग साउन ४ गते खेल्नेछ भने उज्वेकिस्तानसँग दोस्रो खेल ६ गते खेल्नेछ। समूहको अन्तिम खेल लेबनानसँग साउन ८ गते खेल्नेछ।

नेपाली यु–२३ टोलीलाई राजुकाजी शाक्यले प्रशिक्षण दिइरहेका छन्। शाक्यलाई प्रकाश अर्यालले सहायकका रूपमा सघाइरहेका छन्। मेघराज केसीले समयअभावका कारण प्रशिक्षकको जिम्मेवारी लिन अस्वीकार गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले शाक्यलाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो।

एन्फाले सुरुमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाए पनि केही खेलाडीको उमेर बढी भएका कारण अहिले २८ खेलाडी प्रशिक्षणमा छन्। असार १ गतेबाट सुरु भएको बन्द प्रशिक्षण रहेकामध्ये १० खेलाडीले राष्ट्रिय टोलीबाट खेलिसकेका छन्।

सिनियर टोलीबाट खेल्नेमा विमल घर्तीमगर, अन्जन विष्ट, एलेन न्यौपाने, अनन्त तामाङ, सुनील बल, सुमन लामा, दिनेश राजवंशी, हेमन गुरुङ, हेमन्त थापामगर, कमल श्रेष्ठ रहेका छन्।

मुख्य प्रशिक्षक शाक्यले अन्तिम अवस्थामा मैत्रीपूर्ण फुटबल खेल्न लागे पनि यसले टोलीको कमीकमजोरी पत्ता लगाउन सहयोग पुग्ने बताए। ‘यो खेल केही समयअगाडि भएको भए धेरै राम्रो हुने थियो,’ प्रशिक्षक शाक्यले थपे, ‘ढिलै भए पनि यसले टोलीमा भएको कमीकमजोरी पत्ता लगाउन सहयोग पुग्नेछ।’

प्रकाशित: १२ असार २०७४ ०६:०४ सोमबार