खेल

पोखरा क्रिकेट मैदानः भिआईपी ब्लक बनाउन ठेक्का

लामो समयको प्रतिक्षापछि पोखरा रंगशाला क्रिकेट मैदानमा भिआईपी ब्लक निर्माण हुने भएको छ। राष्ट्रिय खेलकुद परिषदले विनियोजन गरेको दुईकरोड रुपैयाँले भिआईपी ब्लक निर्माण गर्नेगरी ठेक्का सम्झौता गरिसकेको छ। गएको जेठ मसान्तमा परिषदले अटुट इन्जिनियरिङ प्रालिसँग सम्झौता गरेको हो। सम्झौता अनुसार प्रालिले छ महिनाभित्रमा पोखरा रंगशाला क्रिकेट मैदानमा भिआईपी ब्लक निर्माण गर्ने छ।

प्यारापिट निर्माणको लागि प्रालिका सदस्य सुवास कँडेलले पोखरा रंगशाला क्रिकेट मैदानको अवलोकन गरेर फर्किएका छन्। प्रालिले पहिलो किस्ताको रकम बुझेपछि काम शुरु गर्नेछ। पोखरा रंगशाला क्रिकेट मैदानको लागि पटक पटक रकम विनियोजन भएपनि परिषदले आवश्यक टेण्डर प्रक्रियालाई टुग्याउन ढिलाई गर्दा बजेट फ्रिज हुदैं आएको थियो। तर अहिले भने गत फागुनमा टेण्डर आह्वान गरेसँगै अटुट इन्जिनियरिङ प्रालिले भिआईपी ब्लक निर्माणको ठेक्का सम्झौता गरेको हो। 

‘अहिलेको बजेटबाट भिआईपी ब्लक ए निर्माण गर्ने योजना छ’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्राविधिक(इन्जिनियर) अनिल अधिकारीले भने, ६ महिनाभित्र निर्माण गरिसक्ने सम्झौता छ।’ उनले गतवर्ष परिषदबाट प्राप्त भएको २५ लाख रुपैयाँबाट मैदान संरक्षण गर्न फेन्सिङ लगाइएको बताए। ‘विस्तारै क्रिकेटको पूर्वाधार काम शुरु भएको छ,’ उनको भनाई थियो।

पोखरा रंगशाला क्रिकेट मैदान निर्माणको डेढदशक अवधि पुरा भईसकेको छ। यद्यपी डेढदशकमा केवल मैदान बाहेक अन्य पूर्वाधार निर्माण हुनै सकेको छैन्। २०७६ सालमा आयोजना भएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा समेत आवश्यक पूर्वाधार बनाईएन्। त्यतिबेला क्रिकेटका आवश्यक केही सामान भने आएको थियो। गत असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत पोखरा रंगशाला क्रिकेट मैदानमा भौतिक पूर्वाधार थपिएन्। 

अटुट इन्जिनियरिङ प्रालिका सदस्य कँडेलले साउनको अन्तिम तथा भदौको पहिलोसातादेखि काम शुरु गर्ने बताए। ‘मंसिरभित्रमा सक्नुपर्ने सम्झौतामा उल्लेख छ। त्यसै अनुसार सक्ने काम गर्ने तयारीसहित शुरु गर्ने छौं’ उनले पोखरा रंगशाला क्रिकेट मैदानको अवलोकनपछि भने–‘डिजाईन अनुसार काम गर्छौ।’ उनका अनुसार दुईकरोडको योजना भएपनि ठेक्का सम्झौता एक करोड २८ लाख(भ्याट बाहेक) रुपैयाँमा सम्झौता भएको छ।  

कास्की जिल्ला क्रिकेट संघले छुट्टाइएको बजेटले दशौं वर्षसम्म पनि भौतिक पूर्वाधार पुरा हुने अवस्था नरहेको उनले बताए। ‘यस्तो तरिकाले बजेट छुट्टाए दशौं वर्षसम्म पनि पोखरा रंगशाला क्रिकेट मैदानमा आवश्यक पूर्वाधार बन्दैन्’ उनको भनाई थियो। पोखरा रंगशाला क्रिकेट मैदानको एक अर्ब ७७ करोडको गुरुयोजना बनाइएको छ। तर गुरुयोजना पुरा गर्ने नाममा वर्षमा केवल एकदेखि डेढ करोड रुपैयाँ बजेट छुट्टाएर कहिले काम हुने हो भन्दै संघका अध्यक्ष सिग्देलले चिन्ता व्यक्त गरे।  

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दसहित केन्द्रीय सदस्य ऋषिराम गौतम, प्रदेश क्रिकेट संघ गण्डकीका अध्यक्ष देवेनसन प्रजु तथा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सिग्देलको टोलीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेट गरेका थिए। भेटको क्रममा नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चन्दले पोखरालाई अन्तरराष्ट्रिय क्रिकेट भेन्यु बनाउनेमा आफुहरु प्रतिबद्ध रहेको उल्लेख गरे।

अध्यक्ष चन्दले सन २०२७ मा नेपालले बंगलादेशसँगको संयुक्त आयोजनामा यु–१९ महिला विश्वकप गर्ने तयारी गरेको सुनाए। ‘नेपाल र बंगलादेशले यु–१९ महिला विश्वकप आयोजना गर्दैछ। १६ देशको सहभागिता रहन्छ। जसमा ८ देशले नेपाल र बाँकी ८ देशले बंगलादेशमा खेल्ने छ। नेपालमा खेल्ने ८ देशमध्ये ४ देशको खेल काठमाडौंमा खेलाईने छ। बाँकी ४ देशको खेल काठमाडौं बाहिर खेलाउने तयारी क्यानले गरेको छ,’ क्यान अध्यक्ष चन्दले मुख्यमन्त्रीसँगको कुरालाई उदृत गर्दै कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सिग्देलले भने।

भेटकै क्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानमा लगानी गर्न कानूनी व्यवधान रहेको उल्लेख गरे। ‘कानूनी समस्याले पोखरा रंगशालाभित्र लगानी गर्न सकिने अवस्था छैन् ’मुख्यमन्त्रीले भने–‘कानून संशोधन गरेर मात्रै लगानी प्रदेश सरकारले गर्न सक्ने छ।’  

प्रकाशित: ११ श्रावण २०८० ०८:४२ बिहीबार

पोखरा रंगशाला क्रिकेट मैदान भिआईपी ब्लक