खेल

फ्रान्स र जमैकाबीच गोलरहित बराबरी

बलका लागि प्रतिस्पर्धा गर्दै फ्रान्सकी माइली लकरर (बायाँ) जमैकाकी जोडी ब्राउन। तस्बिर: एपी

उपलब्धिविहीन फ्रान्सले आइतबार महिला विश्वकपमा जमैकासँग गोलरहित बराबरीको नतिजा सामना गर्दा स्विडेन र नेदरल्यान्ड्सले भने साँघुरो जितसहित सुखद सुरुआत गरेका छन्।

घरेलु लिग निकै बलियो भएको फ्रान्सले करिब ४० हजार समर्थकको साथमा जमैकासँग सिड्नीमा संघर्ष गर्नुपरेको हो। हेर्भे रेनार्डको टोली फ्रान्सलाई डिफेन्डिङ च्याम्पियन अमेरिका र इङ्ल्यान्डसहित यस विश्वकपको दाबेदारका रूपमा हेरिँदै आएको छ। तर, फ्रान्सले आशातीत नतिजा निकाल्न सकेन। बल पोसेसन र अवसरहरू सिर्जना गरे पनि जमैकाले फ्रान्सको योजनालाई पूरा हुन दिएन। खेलको अन्त्यतिरको प्रहार पनि बारमा लाग्दा फ्रान्स अभागी साबित भयो। गत संस्करण सन् २०१९ मा मात्र विश्वकपमा नै जमैकाले डेब्यु गरेको हो। त्यो विश्वकपमा उसले तीनै खेल नै गुमाएको थियो।

आइतबार फ्रान्सविरुद्ध प्राप्त गरेको एक अंक जमैकाको महिला विश्वकप इतिहासमा नै पहिलो हो। ‘यो नम्बर एक नतिजा हो भन्न चाहन्छु। चाहे त्यो पुरुषका लागि नै किन नहोस्। यो नतिजालाई म उत्कृष्ट भन्न चाहन्छु,’ जमैकाका प्रशिक्षक लोर्ने डोनाल्डसनले घोषणा गरे।

 जमैकाका लागि एक मात्र खराब पक्ष भनेको इन्जुरी समयमा स्ट्राइकर खादिजा सअ दोहोरो पहेँलो कार्ड बेहोर्दै बाहिरिनु रह्यो। उनले पानामासँगको दोस्रो खेल गुमाउने भएकी छन्। जमैका अहिले विश्वको ४३औं वरीयतामा छ भने फ्रान्स विश्व नम्बर पाँच टोली हो।

जब खेलको अन्तिम सिट्ठी बज्यो, लगत्तै नै जमैकाकी डिफेन्डर डेनिसा ब्लाकवुडले हावामा परेड खेलिन्। ‘हामी फ्रान्सजस्तो टोलीसँग खेलेका हौं। उनीहरू उत्कृष्ट हुन्। उनीहरूको वरीयता नै हेरौं न? त्यसैले यो नतिजा नम्बर एक हो,’ प्रशिक्षक डोनाल्डसनले भने। यो समूहको अर्को खेलमा ब्राजिलले सोमबार पानामाविरुद्ध खेल्नेछ। न्युजिल्यान्ड र अस्ट्रेलियामा गरेर सोमबार चार खेल भए। जहाँ स्विडेनले दक्षिण अफ्रिकासँगको हार जोगाउँदै २–१ ले नतिजा आफ्नो पक्षमा पार्‍यो। दक्षिण अफ्रिकाले अग्रता बनाए पनि विश्वको तेस्रो वरीयतामा रहेको स्विडेनले दुई गोल फर्काउँदै जित निकालेको हो।

चार वर्षअगाडि विश्वकप फाइनलमा अमेरिकासँग २–० ले हार बेहोरेको नेदरल्यान्ड्सले न्युजिल्यान्डको सहर डुनेडिनमा पोर्चुगलसँग संघर्षपूर्ण जित निकाल्यो। खेलको १३औं मिनेटमा डिफेन्डर स्टेफानी भान डेर ग्राज्टले गरेको हेडर गोल नै जितका लागि पर्याप्त बन्यो।

डच टोलीले आगामी बिहीबार नै समूह ‘ई’ को खेलमा अमेरिकाविरुद्ध चुनौती प्रस्तुत गर्दै छ। जसलाई चार वर्षअगाडि सम्पन्न फाइनलको रिम्याचका रूपमा लिइएको छ। खेलको अन्तिम १० मिनेट बाँकी छँदा पोर्चुगलले राम्रो अवसर बनाए पनि डच टोलीले सफल हुन दिएनन्। 

प्रकाशित: ८ श्रावण २०८० ०२:५१ सोमबार

महिला विश्वकप फ्रान्स र जमैकाबीच गोलरहित बराबरी