खेल

खेलाडीलाई ह्याम्सको निशुल्क सेवा

काठमाडौं- ह्याम्स हस्पिटलले शिरीष फाउन्डेसनको छात्रावृत्तिमा रहेका खेलाडीलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। शिरीष फाउन्डेसनका अध्यक्ष शिरीष गुरुङ र ह्याम्स हस्पिटलका निर्देशक भक्तप्रह्लाद पाण्डेले बिहीबार निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। यससँगै फाउन्डेसनले सिफारिस गरेका खेलाडीलाई हेम्स हस्पिटलले १ वर्षका लागि निशुल्क रूपमा शरीरको पूर्ण परीक्षण, प्याथोलोजी सेवा, स्वास्थ्य परीक्षण तथा उपचारका साथै पुनर्स्थापना सेवा प्रदान गर्नेछ। त्यसको सट्टामा फाउन्डेसनले आफ्ना प्रत्येक कार्यक्रममा हेम्स हस्पिटललाई आधिकारिक साझेदारको रूपमा राख्नुपर्नेछ।

सम्झौतापत्रमा हस्ताक्षरपछि हस्पिटलका निर्देशक पाण्डेले फाउन्डेसनमार्फत खेलक्षेत्रसँग जोडिन पाउँदा गौरवान्वित भएको भन्दै ह्याम्समा नभएका सेवामा पनि लागत रकम मात्र लिएर उपचारको व्यवस्था गर्ने बताए।

‘खेलाडी र कलाकारले देशको प्रतिनिधित्व गरिरहेका हुन्छन्। तर हाम्रो देशमा खेलाडी खेलमैदानमा घाइते भए पनि उपचारको सबै खर्च आफैंले बेहोर्नुपर्ने अवस्था छ। यसबीचमा शिरीष फाउन्डेसनले थालनी गरेको काम सराहनीय छ,’ निर्देशक पाण्डे थपे, ‘नियमित स्वास्थ्य परीक्षणसँगै हामी थेरापी र खेलाडीले लिनुपर्ने डाइटको बारेमा पनि निशुल्क परामर्श सेवा उपलब्ध गराउनेछौं।’

शिरीष फाउन्डेसनले जुडो खेलाडी निमा घर्तीमगरलाई छात्रावृत्ति प्रदान गरेको छ। फाउन्डेसनका अध्यक्ष तथा ओलम्पियन गुरुङले एक वर्ष भित्रमा ४ खेलाडीलाई छात्रावृत्ति प्रदान गर्ने लक्ष्य रहेको बताए।

‘खेलाडीका लागि स्वास्थ्य महत्वपूर्ण पाटो हो। यसले खेलाडीको प्रदर्शनमा प्रत्यक्ष भूमिका खेलेको हुन्छ। त्यसैले फाइउन्डेसनका लागि आजको दिन महत्वपूर्ण रहनेछ,’ पौडीका खेलाडी गुरुङले थपे, ‘आगामी दिनमा पनि यस्तै सहयोग पाउने आशा गरेका छौं।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले फाउन्डेसनको यस्तो कार्यले नयाँ पुस्ताका खेलाडीले मैदानमा ढुक्क भएर खेल्न सक्ने वातावरण सिर्जना हुने बताए।

शिरीष फाउन्डेसनले सिफारिस गरेका खेलाडीलाई हेम्स हस्पिटलले १ वर्षका लागि निशुल्क रूपमा शरीरको पूर्ण परीक्षण, प्याथोलोजी सेवा, स्वास्थ्य परीक्षण तथा उपचारका साथै पुनर्स्थापना सेवा प्रदान गर्नेछ।

प्रकाशित: २ असार २०७४ ०३:२८ शुक्रबार

खेलाडीलाई ह्याम्सको निशुल्क सेवा