खेल

मनास्लु वर्ल्डलाई बास्केटबल उपाधि

आयोजक मनास्लु वर्ल्ड कलेजले बुधबार तेस्रो मनास्लु एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।

चुच्चेपाटीस्थित घरेलु कोर्टमा भएको फाइनलमा मनास्लुले युजेएलाई २१–१४ ले पराजित गर्‍यो। मनास्लुका लागि पेम्बा बमजनले सर्वाधिक ११ स्कोर गरे। मनास्लुकै तुषार महर्जनले ६ तथा कोसिस भुजेलले ४ अंक जोडे। सेमिफाइनलमा मनास्लुले आइएसए नेपाल तथा युजेएले आदिम कलेजलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए।

उपाधिसँगै मनास्लुले १५ हजार नगद पुरस्कार हात पार्‍यो भने युजेएले ७ हजार नगद पुरस्कार पायो। विजेता र उपविजेता टोलीका सदस्यले नगद पुरस्कारसहित छात्रवृत्ति पनि पाउनेछन्।

मनास्लुका तुषार महर्जन मोस्ट भ्यालुएबल प्लेयर घोषित भए। उनले पनि छात्रवृत्ति पाउनेछन्। विजेतालाई मनास्लुका अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे। एकदिने लिग कम नकआउट प्रतियोगितामा १६ छात्र टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक सुनील योन्जनले जनाएका छन्।

प्रकाशित: ४ श्रावण २०८० ०२:४२ बिहीबार

मनास्लु वर्ल्ड बास्केटबल उपाधि