खेल

मेसी सिंगापुर नआउने

सिंगापुर- सुपरस्टार लियोनेल मेसी अर्को साता सिंगापुरमा हुने मैत्रीपूर्ण खेलमा 'व्यक्तिगत कारण' ले अनुपस्थित हुने आयोजकहरूले बताएका छन्।

गोन्जालो हिग्विन र निकोलस ओटामेन्डी पनि उक्त मैत्रीपूर्ण खेलमा अर्जेन्टिनी टोलीसँग नहुने आयोजक युनिसेसले बताएको छ।

'यी तीन खेलाडी अनुपस्थित हुने कुराले हामी अत्यन्तै निराश छौं। सिंगापुरका समर्थकहरूको मेसी, हिग्विन र ओटामेन्डीलाई आफ्नो मैदानमा खेलेको हेर्ने चाहना यसपालिलाई पूरा नहुने भएको छ। तर पनि अर्जेन्टिनाजस्तो विश्वस्तरीय टोलीसँग खेल्न पाउनु सिंगापुरका लागि ठूलो उपलब्धि हो। तीन खेलाडी नआए पनि अर्जेन्टिनाको टोली विश्वस्तरीय स्टारहरूले भरिएको हुनेछ,' युनिसेसले विज्ञप्तिमार्फत भनेको छ।

मेसी र रक्षक ओटामेन्डी दुवै यही महिना विवाह गर्ने तयारीमा रहेकाले सिंगापुर नआउने बताइएको थियो। तर सिंगापुरे आयोजकले भने उनीहरू नआउने समाचार पुष्टि गरेका थिएनन्। मेसीको बाल्यकालदेखिकी प्रेमिका एन्टोनेला रोकुजोसँग जुन ३० मा जन्मस्थान रोसेरियोमा विवाह तय भएको छ। यसै गरी ओटामेन्डीको विवाह जुन १६ का लागि तय भएको बताइएको छ।

फिफाको विश्व वरीयताक्रममा दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले १ सय ५९औं स्थानको सिंगापुरसँग सिंगापुरको राष्ट्रिय रंगशालामा जुन १३ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ। सिंगापुर फुटबल संघ स्थापनाको १ सय २५औं वार्षिकोत्सवका अवसरमा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो।

प्रकाशित: २९ जेष्ठ २०७४ ०४:१६ सोमबार

मेसी सिंगापुर नआउने