खेल

बंगलादेशको सेमिफाइनल सम्भावना जीवित

कार्डिफ- सकिब अल हसन र मोहम्मदुल्लाहको शतकप्रेरित बंगलादेशले शुक्रबार न्युजिल्यान्डमाथि ५ विकेटको नाटकीय जित हात पार्दै च्याम्पियन्स ट्रफीको सेमिफाइनल प्रवेश सम्भावनालाई जीवित राखेको छ।

२ सय ६६ रनको विजयलक्ष्य पछ्याएको बंगलादेशले १६ बलअगावै पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टायो। बंगलादेशले राम्रो सुरुआत गर्न सकेको भने थिएन।  तर सकिब र मोहम्मदुल्लाहले पाँचांै विकेटका लागि २ सय २४ रनको महत्वपूर्ण साझेदारी गर्दै ३३–४ को कठिन स्थितिमा रहेको बंगलादेशको इनिङ उकासेका थिए।

 एकदिवसीय क्रिकेटमा बंगलादेशी ब्याट्सम्यानले पाँचांै विकेटका लागि गरेको यो सर्वाधिक रनको साझेदारी हो। उनीहरूले तमिम इकबाल र मुस्पि्ककर रहिमले सन् २०१५ मा  ढाकामा पाकिस्तानविरुद्ध गरेको १ सय ७८ रनको सर्वाधिक साझेदारीको कीर्तिमान तोडेका हुन्।

१ सय ११ बलको सामना गरेका साकिबले ११ चौका र १ छक्काको मद्दतमा १ सय १४ रनको योगदान दिँदा १ सय ७ बल खेलेका मोहम्मदुल्लाहले ८ चौका र २ छक्काको मद्दतमा अविजित १ सय २ रनको योगदान दिए।

न्युजिल्यान्डका टिम साउथीले ३ तथा एडम मिल्ने र टे्रन्ट बोल्टले समान १ विकेट लिए।

यस जितपछि समूह ‘ए’ मा तीन अंक जोडेको बंगलादेशले सेमिफाइनल प्रवेश सम्भावना जीवित राखेको हो। आयोजक इङ्ल्यान्ड यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ। २ अंक जोडेको अस्ट्रेलिया इङ्ल्यान्डसँग पराजित भएमा बंगगादेशले समूह उपविजेताका रूपमा अन्तिम ४ मा स्थान पक्का गर्नेछ। यस हारसँगै न्युजिल्यान्ड भने प्रतियोगिताबाट बाहिरिएको छ।

‘हामीले लक्ष्यका बारेमा कुनै कुरा गरेनौं, हामी ४० ओभरसम्म ब्याटिङ गर्न चाहन्थ्यौं,’ म्यान अफ दी म्याच सकिबले भने, ‘यो जित हाम्रा लागि धेरै महत्वपूर्ण छ र यो ठूलो उपलब्धि हो। हामी अन्तिम ४ मा प्रवेश गर्नैमा अझै आशावादी छौं।'

यसअघि टस जितेर ब्याटिङका लागि उत्रिएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६५ रनको योगफल खडा गरेको थियो।

न्युजिल्यान्डका रस टेलरले सर्वाधिक ६३ र कप्तान केन विलियम्सनले ५७ रनको योगदान दिए। ८२ बल खेलेका टेलरले ६ चौका प्रहार गर्दा ६९ बल खेलेका विलियम्सनले ५ चौका प्रहार गरे। त्यस्तै निल ब्रुमले ३६ र  मार्टिन गुप्टिलले ३३ रनको योगदान दिए।

बंगलादेशका मोसाडिक हुसेनले ३ तथा तस्किन अहमदले २ विकेट लिँदा रुवेल हुसेन र मुस्तिाफिजुर रहमानको नाममा समान १ विकेट रह्यो।

‘पक्कै पनि यो खेलमा दुवै टोलीको जितको सम्भावना आधा–आधा रह्यो,’ न्युजिल्यान्डका कप्तान विलियम्सनले भने, ‘सुरुआती २० ओभरमा हामीले खेल दबाबमा राख्यौं। बलरको प्रदर्शन उत्कृष्ट रह्यो। सकिब र मोहम्मदुल्लाहले उत्कृष्ट ब्याटिङको नमुना प्रस्तुत गरे।’

‘हामीले लक्ष्यका बारेमा कुनै कुरा गरेनौं, हामी ४० ओभरसम्म ब्याटिङ गर्न चाहन्थ्यांै। यो जित हाम्रा लागि धेरै महत्वपूर्ण छ। हामी अन्तिम ४ मा प्रवेश गर्नैमा अझै आशावादी छौं।'

प्रकाशित: २८ जेष्ठ २०७४ ०४:३१ आइतबार

बंगलादेशको सेमिफाइनल सम्भावना जीवित