खेल

शिवराम सूर्य नेपाल च्याम्पियन

काठमाडौं- नेपाल नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठले बिहीबार गोकर्ण गल्फ क्लबमा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि उचाल्दै करियरमा प्रमुख उपाधिसंख्या ३६ पुर्‍याएका छन्।

सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको अन्तिम प्रतियोगितामा उपाधि उचाल्ने क्रममा शिवरामले चार दिनसम्म ७२ होलमा प्रतिस्पर्धा गर्दै निकट प्रतिद्वन्द्वीद्वय सूर्यप्रसाद शर्मा र सञ्जय लामालाई ३ स्ट्रोकले पछि पारे। बिहीबार अन्तिम दिन खराब प्रदर्शनका साथ ४ ओभर ७६ मा सीमित भएका शिवरामको समग्र स्कोर १४ अन्डर २ सय ७४ थियो। जारी सिजनमा भएका कुल आठ प्रतियोगितामा छैटौं उपाधि जितेका शिवरामको समग्र करियरमा यो ३६औं प्रमुख उपाधि हो।

घरेलु गल्फमा सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता जितेसँगै शिवरामले २ लाख २० हजार रुपैयाँ हात पारे।

संयुक्त रूपमा दोस्रो स्थान हासिल गरेका सूर्यप्रसादले बिहीबार २ अन्डर ७४ तथा सञ्जयले १ अन्डर ७१ स्कोर गरे। उनीहरूको समग्र स्कोर समान ११ अन्डर २ सय ७७ थियो। दुवैले नगद पुरस्कारस्वरूप नगद १ लाख १२ हजार रुपैयाँ हात पारे। समग्रमा २ अन्डर २ सय ८६ स्कोरका साथ चौथो भएका धनबहादुर थापा (७७) ले ७४ हजार रुपैयाँ पाए भने भुवन नगरकोटी (७३) पाँचौं स्थान हासिल गर्दै ६५ हजार रुपैयाँको भागीदार बने। उनको समग्र स्कोर १ अन्डर २ सय ८७ थियो।

जयराम श्रेष्ठले २ ओभर २ सय ९० स्कोरका साथ छैटौं हुँदै ६० हजार रुपैयाँ पाए भने राजेन्द्र थापामगर (२९२) सातौं भए। उनले नगद ५५ हजार रुपैयाँ पाए। तीर्थ पौडेल र रवि खड्का समान ५ ओभर २ सय ९३ स्कोरका साथ संयुक्त रूपमा सातौं भए भने रामे मगर र बलभद्र राई (समान २९४) संयुक्त रूपमा १०औं भए।

४८ व्यावसायिक तथा १२ एमेच्योर गरी कुल ४८ खेलाडीको सहभागिता रहेको प्रतियोगितामा कुल पुरस्कार राशि १२ लाख रुपैयाँ थियो। पहिलो दुई दिनको खेलबाट बाँकी दुई दिनका लागि छनोट भएका शीर्ष २४ खेलाडीले नगद पुरस्कार हात पारे। नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) को आयोजनामा सम्पन्न प्रतियोगिताका विजेतालाई बिहीबारै प्रायोजक सूर्य नेपालका मार्केटिङ निर्देशक अभिमन्यु पोडार, नेपाल गल्फ संघका अध्यक्ष टासी घलेलगायतले पुरस्कृत गरे।

प्रकाशित: २६ जेष्ठ २०७४ ०२:१६ शुक्रबार

शिवराम सूर्य नेपाल च्याम्पियन