खेल

पाकिस्तानको सेमिफाइनल सम्भावना जीवित

बर्मिङ्घम- पाकिस्तानले बुधबार दक्षिण अफ्रिकामाथि १९ रनको नाटकीय जित हात पार्दै च्याम्पियन्स ट्रफीको सेमिफाइनल पुग्ने सम्भावना जीवित राखेको छ।

इड्गबास्टनमा हात पारेको यस जितसँगै पाकिस्तानले पहिलो खेलमा चिर प्रतिद्वन्द्वी भारतसँग भोगेको लज्जास्पद हारको पीडालाई केही कम गरेको छ। उक्त खेलमा पाकिस्तान १ सय २४ रनको भारी अन्तरले पराजित भएको थियो।

भारतले पाकिस्तानविरुद्ध ३ सय १९ रनको सम्मानजक योगफल खडा गरेको थियो। तर बुधबारको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई २१९–८ मा सीमित गरेको थियो।

२ सय २० रनको लक्ष्य पछ्याएको पाकिस्तानको सुरुआत राम्रो थिएन। दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मोर्ने मोर्केलले ३ बलको अन्तरमा २ विकेट लिएपछि पाकिस्तान ४१–२ को कठिन स्थितिमा पुगेको थियो।

तर बाबर आजमले मोहम्मद हफिजसँग तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गर्दै पाकिस्तानको इनिङ उकासेका थिए। हफिजले ३१ रनको योगदान दिए। फ्लड लाइटमा खेलाइएको दिवा रात्रि खेलमा बाबर ३१ र सोएब मलिक २६ रनमा खेल्दै गरेको समयमा वर्षाले खेल रोकिँदा पाकिस्तान २७ ओभरमा १९९–३ मा थियो।

रोकिएको दुई घण्टापछि अम्पायरले खेल पुन सुचारु गर्न नसिकने बताएका थिए। उक्त स्थितिमा विजयलक्ष्यभन्दा अघि रहेकाले पाकिस्तानलाई डकवर्थ लुइस पद्धतिमा १९ रनले विजयी घोषणा गरिएको थियो। आइसिसीको एकदिवसीय प्रतियोगितामा पाकिस्तानले डकवर्थ लुइस पद्धतिमा दक्षिण अफ्रिकालाई पराजित गरेको यो लगातार दोस्रो पटक हो। यसअघि सन् २०१५ को विश्वकपमा पनि पाकिस्तानले दक्षिण अफ्रिकालाई २९ रनले पराजित गरेको थियो।

यस नतिजाले समूह ‘बी’ बाट सेमिफाइनल प्रवेश गर्र्ने सबै टोलीको दौड खुला राखेको छ। यस समूहमा पाकिस्तान, दक्षिण अफ्रिका र भारतले समान १ खेल जितेका छन् भने श्रीलंकाले खाता खोल्न सकेको छैन।

'यो हाम्रो लागि महत्वपूर्ण जित हो,’ पाकिस्तानका कप्तान सरफराज अहमदले भने, ‘आज हामी सबै पक्षमा उत्कृष्ट रह्यौ।’

यस अघि सुरुआती ओभरमा पाकिस्तानी स्पिनरले माथिल्लो क्रमका ब्याट्सम्यानलाई पवेलियन फर्काएपछि दबाबका परेको दक्षिण अफ्रिका तीव्र गतिका बलर हसन अलीले ८ ओभरमा २४ रन खर्चंदै ३ विकेट लिएपछि थप दबाबमा परेको थियो।

दक्षिण अफ्रिकाका डेभिड मिल्नरले अविजित रहँदै सर्वाधिक ७५ रनको योगदान दिनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। १ सय ४ बल सामना गरेका मिल्नरले १ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै क्रिस मोरिसले २८ र कासिगो रावाडाले २१ रनको योगदान दिएका थिए।

पाकिस्तानका हसनले ३ तथा इमाद वासिम र जुनेद खानले समान २ विकेट लिए। मोहम्मद हफिजको नाममा एक विकेट रह्यो।

‘उनीहरूले उत्कृष्ट बलिङ गर्दै हामीलाई दबाबमा राखे,’ २ सय १२औं एकदिवसीय खेलमा पहिलो पटक गोल्डेन डक आउट भएका दक्षिण अफ्रिकाका कप्तान एबी डी भिलियर्सले भने।

प्रकाशित: २६ जेष्ठ २०७४ ०२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App