खेल

श्रृजनशीलका जुडो खेलाडीलाई सहयोग

श्रृजनशील बाल सेवा परिवारमा आश्रित जुडो खेलाडी र अन्य आश्रितलाई शनिबार खाद्यान्न र विद्यालय पोशाक प्रदान गरिएको छ।

जुडो विश्व भ्रमण दलका सदस्य फ्रान्सका लाउरेन्ट डी अलोभिराले उपलब्ध गराएको सहयोग कागेश्वरी मनोहरा नगरपालिका वडा–९ स्थित श्रृजनशीलमा आश्रितलाई हस्तान्तरण गरिएको हो। सहयोगका लागि अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएका जुडो खेलाडी मोहन बमले पहल गरेका थिए। मोहनकै पहलमा विगत तीन वर्षदेखि लाउरेन्टले श्रृजनशीलका आश्रितलाई सहयोग गर्दै आएका छन्। सामाजिक तथा बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएका संस्था किवानिज क्लब अफ एभरेष्ट नेपाल, किवानिज क्लब अफ लालीगुराँस र किवानिज क्लब अफ सिन्धुपाल्चोकले संयुक्त रूपमा उक्त कार्यक्रम आयोजना गरेका हुन्।  

किवानिज नेपालका डिस्ट्रिक्ट गभर्नर लक्ष्मण लम्साल, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य र जुडोका मुख्य प्रशिक्षक वीरेन्द्र रन्जितलगायतले श्रृजनशीलकी अध्यक्ष उमादेवी बस्नेतलाई सामाग्री हस्तान्तरण गरे। सोही अवसरमा श्रृजनशीलमा निःशुल्क जुडो प्रशिक्षण गराइरहेका जुडो प्रशिक्षक उत्तमप्रताप राणालाई प्रोत्साहन स्वरूप ६० हजार तथा आश्रितको विद्यालय पोशाकका लागि करिब ६४ हजार रुपैयाँ प्रदान गरिएको थियो। कार्यक्रममा अध्यक्ष बस्नेतले सहयोगका लागि लाउरेन्टलाई धन्यवाद दिँदै पहल गर्ने जुडो प्रशिक्षक बमप्रति आभार प्रकट गरिन्।  

बमले विगतमा पनि व्यक्तिगत तथा अन्यसँग सहयोग जुटाएर नेपाली जुडो र खेलाडीलाई सहयोग गर्दै आएका छन्। श्रृजनशीलमा करिब २० जना अनाथ आश्रित छन्। तिमध्ये १५ जना जुडो खेल्छन्।

प्रकाशित: ३१ असार २०८० ०५:०० आइतबार

श्रृजनशीलका जुडो खेलाडीलाई सहयोग