खेल

यु–१६ लिगः पुलिसको विजयी सुरुआत

मनाङविरुद्ध गोल गरेपछि पुलिसका रञ्जित लामा (११) ।तस्बिर सौजन्य ः एन्फा

नेपाल पुलिस क्लबले शुक्रबारदेखि सुरु भएको एन्फा यु–१६ युथ लिगमा विजयी सुरुआत गरेको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा शुक्रबारदेखि सुरु भएको लिगमा पुलिसले मनाङ मस्र्याङ्दी क्लबलाई २–१ ले हराउँदै सुखद सुरुआत गरेको हो। खेलको चौथो मिनेटमा नै पुलिसले गोल गर्दै सुरुआती अग्रता लिएको थियो। पुलिसका रञ्जित लामाले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। यद्यपि, मनाङले खेलको १९औं मिनेटमा गोल फर्कायो। उसका लागि दर्शन अधिकारीले गोल गरेका थिए।  

तर, पहिलो हाफ सकिन लाग्दा गोल गर्दै पुलिसले पुनः अग्रता लियो। पुलिसका राजु दर्जीले पहिलो हाफको थप समयमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका हुन्। त्यो गोल नै पुलिसको जितका लागि पर्याप्त बन्यो। उक्त प्रतियोगिताको शुक्रबार एन्फा कम्प्लेक्समा आयोजित एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए। कुल १० टोली सहभागी लिगमा पहिलो दिन एक मात्र खेल भएको थियो।  

आगामी ६ महिनासम्म चल्ने लिगमा मनाङ र पुलिससहित एफसी खुमलटार, संकटा, आर्मी, एपिएफ, फ्रेन्ड्स, चर्च ब्वाइज, न्युरोड टिम र मच्छिन्द्र एफसीले प्रतिस्पर्धा गर्दै छन्। लिगका खेलहरू एन्फा कम्प्लेक्स, च्यासल स्टेडियम र नेपाल आर्मीको खेल मैदान सल्लाघारीमा हुनेछन्। उक्त खेलहरू शनिबार र सार्वजनिक बिदामा मात्र सञ्चालन हुनेछन्।  

प्रकाशित: ३० असार २०८० ०३:१० शनिबार

यु–१६ लिगः पुलिसको विजयी सुरुआत