खेल

सागमा २३ खेलको प्रस्ताव

काठमाडौं- दुई वर्षपछि आफैंले आयोजना गर्ने १३औं दक्षिण एसियाली खेलकुद (साग) मा २३ खेल समावेश गर्ने प्रस्ताव गर्ने म्यान्डेटसहित नेपाल ओलम्पिक कमिटी (एनओसी) को प्रतिनिधिमण्डल सोमबार भुटान लागेको छ।

मंगलबार र बुधबार भुटानको थिम्पुमा हुने दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकमा सहभागी हुन एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ नेतृत्वको टोली त्यसतर्फ लागेको हो। श्रेष्ठ एसएओसीका पनि अध्यक्ष हुन्।

दक्षिण एसियाली देशहरूले पालैपालो आयोजना गर्ने चलनअनुसार

नेपालबाटै सुरु भएको सागको १३औं संस्करण आयोजनाको अधिकार पालोअनुसार नेपालले पाएको छ। अर्को वर्ष फेब्रुअरीमा गर्नुपर्ने भए पनि तयारीको सुस्तताका कारण नेपालले एक वर्षका लागि १३औं संस्करणको आयोजना मिति सारिसकेको छ।

नेपालले साग आयोजनाको मौका पाएको यो तेस्रो पटक हो। यसअघि पहिलो र आठौं साग नेपालमा आयोजना भएका थिए।

भारतको गुवाहटीमा गत वर्ष सम्पन्न १२औं संस्करणमा नेपालको सम्भावना रहेको कराते समावेश गरिएको थिएन। नेपालले कराते समावेश गर्दै विभिन्न २३ खेल आयोजनाका लागि एसएओसीको बैठकमा प्रस्ताव गर्ने एनओसी अध्यक्ष श्रेष्ठले नागरिकलाई जानकारी गराए। उनका अनुसार एनओसीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा तथा खेलकुद मन्त्रालयसँगको छलफलपछि २३ खेल समावेशका लागि प्रस्ताव गर्ने म्यान्डेट एनओसीले पाएको थियो।

लामो समयदेखिको एनओसी विवाद अझै सुल्भि्कइनसकेको अवस्थामा श्रेष्ठ नेतृत्वले देशभित्र औपचारिक रूपमा राष्ट्रिय मान्यता पाएको छैन। श्रेष्ठ नेतृत्वलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को मान्यता भए पनि सर्वोच्च अदालतले भने रुक्मसम्शेर राणा अध्यक्ष रहेको पुरानो कमिटीलाई वैधानिकता प्रदान गरेका कारण सरकारी निकायले पनि श्रेष्ठ नेतृत्वसँग खुलेर सहकार्य गर्न हिचकिचाउने गरेको छ।

प्रकाशित: २३ जेष्ठ २०७४ ०४:५८ मंगलबार

सागमा २३ खेलको प्रस्ताव