खेल

सन्दीपा र शिशिरलाई कांस्य

सन्दीपा अमगाईं र शिशिर श्रेष्ठले डब्लुटी प्रेसिडेन्ट कप ओसिनिया जीटु तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका छन्। अस्ट्रेलियाको मोरिफिल्ड क्विन्सल्यान्डमा भएको च्याम्पियनसिपको ३० वर्षमुनिको पेयर पुम्सेमा सन्दीपा र शिशिरले कांस्य पदक जितेका हुन्। यो स्पर्धामा चाइनिज ताइपेइले स्वर्ण र अस्ट्रेलियाले रजत पदक जितेको थियो।

उक्त च्याम्पियनसिपमा नेपालकै सागर गुभाजु र पारस भण्डारीले पनि प्रतिस्पर्धा गरेका थिए। राष्ट्रिय टोलीका सदस्य रहिसकेका सागरले ग्योरोगीको ८० केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। यस्तै पारसले ६८ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गरेका थिए।

चारै जना खेलाडीले अस्ट्रेलियाकै अर्को प्रतियोगिता अस्ट्रेलियन ओपन जीटु च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्दैछन्। सन्दीपा र शिशिरले ३० वर्षमुनिको पेयर पुम्से, सागरले पुरुष ७४ केजी र पारसले ६३ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन्। सन्दीपा अध्ययनको सिलसिलामा जापानमा बस्दै आएकी छन् भने अरु अस्ट्रेलियामै अध्ययन गरिरहेका छन्।

मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका पारस प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। सोही प्रतियोगितामा रजत पदक जितेकी सन्दीपाले लेभल टु कोचेजु कोर्स पनि उत्तीर्ण गरेकी छन्। सीतापाइला तेक्वान्दो डोजाङकी सहायक प्रशिक्षकसमेत रहेकी सन्दीपाले वल्र्ड तेक्वान्दोले मे १५ देखि २१ सम्म सञ्चालन गरेको लेभल टु कोचेजु उत्तीर्ण गरेकी थिइन्। यस्तै गुभाजुले अस्ट्रेलियामा भएको सनसाइन कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए।

प्रकाशित: २३ असार २०८० १६:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App