खेल

मध्यपुरमा ग्रासरुट फुटबल

काठमाडौं- मध्यपुर युथ एसोसिएसनले शनिबारबाट ‘विकेन्ड ग्रासरुट होम एन्ड अवे फुटबल लिग’ प्रतियोगिता गर्ने भएको छ। ८ महिनासम्म चल्ने यस प्रतियोगितामा १६ विद्यालयका दुई उमेरसमूह गरी ३२ टोलीको समहभागिता रहने मध्यपुर युथ एसोसिएसनले बिहीबार पत्रकार सम्मेलनमा जनाकारी दियो। हरेक हप्ताको शनिबार तथा सार्वजनिक बिदाका दिन खेलाइने प्रतियोगितामा ८ देखि १० वर्ष उमेरसमूहका १६ जुनियर टोली र ११ देखि १३ वर्षसम्मका १६ सिनियर टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा उपत्यकाका मध्यपुर युथ एसोसिएसन, एभरेस्ट इङ्लिस एकेडेमी, ग्रासरुट फुटबल एकेडेमी, आदर्श जनप्रेमी उच्च मावि, नेक्सस इन्टरनेसनल एकेडेमी, भक्तपुर इङ्लिस स्कुल, राजश्री गुरुकुल स्कुल, विनायक शिक्षा निकेतन स्कुल, ग्लाड स्टोन एकेडेमी, गोल्डेन सुनगाभा इङ्लिस स्कुल, नौलो ज्योति इङ्लिस स्कुल, मेरी गोल्ड इङ्लिस स्कुल, सिभिएम स्कुल, भक्तपुर निस्ट स्कुल, एक्टिभ इङ्लिस स्कुल, ओम ज्ञान मन्दिर स्कुलका दुई टोलीको सहभागिता रहनेछ।

मध्यपुर युथ एसोसिएसनका अध्यक्ष तथा प्रशिक्षक उपेन्द्रमान सिंहले जुनियर र सिनियर टोलीका ४ सय ८० खेलाडीको सहभागिता हुने बताए। उनले भक्तपुरस्थित एसोसिएसनको मैदानलाई २ भागमा विभाजन गरी एक दिनमा जुनियर र सिनियरका दुई टोलीले खेल्ने बताए।

‘भक्तपुरमा रहेको हाम्रो खेलमैदानलाई २ भागमा विभाजन गर्नेछौं। टोलीले त्यो छुट्टा छुट्टै मैदानलाई होम एन्ड अवे मानेर खेल्नेछन्,’ प्रतियोगिताबारे सिंहले भने।

राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानसमेत रहेका सिंहले ८–८ जनाको टोलीले प्रतिस्पर्धा भए पनि जुनियर र सिनियर दुवै टोली १५ सदस्यीय हुनुपर्ने बताए। उनले ६० मिनेटको समयमा प्रत्येक २० मिनेटमा ५ मिनेटको ‘ब्रेक’ हुने बताए। ‘राष्ट्रिय फुटबल विकासमा ग्रासरुटका प्रतियोगिताले धेरै महŒव राख्दछ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मात्र नभई ए डिभिजनका सबै क्लबहरूले यस्तो कार्यक्रम सञ्चालन गर्नुपर्छ। यसले फुटबल विकासमा धेरै ठूलो भूमिका खेल्छ,’ ग्रासरुटका प्रतियोगिताले फुटबलको अधार तयार पार्ने भन्दै सिंहले थपे, ‘एक टोलीले ३० वटा खेल खेल्ने यस प्रतियोगिताबाट युवा प्रतिभा जन्मने आशा गरौं।’

प्रकाशित: १२ जेष्ठ २०७४ ०५:०१ शुक्रबार

मध्यपुरमा ग्रासरुट फुटबल