खेल

ला लिगा उपाधि रियाललाई

मड्रिड- क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमाको गोलमा आइतबार मालागालाई २–० ले पराजित गर्दै रियाल मड्रिडले पछिल्लो पाँच वर्षमा पहिलो पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ।

समग्रमा रियालले जितेको यो ३३ओैं  ला लिगा उपाधि हो।

मालागाको घरेलु मैदान स्टोनिया ला रोसालेडामा सम्पन्न खेलको दोस्रो मिनेटमा रोनाल्डोले गरेको गोलमा रियालले अग्रता लिएको थियो। उनले विपक्षी गोलकिपर कार्लोस कामिनीसँगको वान भर्सेस वानमा बललाई पोस्टको दिशा दिएका थिए । जारी सिजनमा उनको यो ४०औं गोल हो।

५५औं मिनेटमा राफेल भरानेको पासमा बेन्जेमाले गोल गर्दै रियालको अग्रता दोब्बर पारेका थिए।

यस जितसँगै ३८ खेलमा ९३ अंक जोडेको रियालले दोस्रो स्थानको बार्सिलोनालाई ३ अंकले पछि पार्दै उपाधि पक्का गरेको हो।

यता एइबारविरुद्धको खेलमा पुनरागमन गरी ४–२ को जित हात पार्दै घरेलु मैदान क्याम्प नोउमा प्रशिक्षक लुइस इनरिकेलाई सुखद बिदाइ गरे पनि बार्सिलोना लगातार तेस्रो पटक ला लिगा उपाधि जित्न सफल भएन।

‘यो मेरो व्यावसायिक जीवनको एक सुखद दिन हो,’ मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले भने, ‘मैले यो खेलाडीको रूपमा पनि अनुभव गरेको छु, त्यसैले मैले यसलाई व्यावसायिक जीवनको एक सुखद दिन भनेको हुँ, किनभने प्रशिक्षक भएपछि सबै कुरा परिवर्तन हुन्छ। मैले यो क्लबमा रहँदा सबै कुरा जितेको छु तर एक प्रशिक्षकको रूपमा ला लिगाको उपाधि जित्नु सबैभन्दा सुखद पक्ष हो। ’

रियाललाई उपाधि पक्का गर्नका लागि एक अंक पर्याप्त थियो र खेल सुरु भएको केही सेकेन्डमै यसको छिनोफानो भएको थियो।

‘समग्रमा भन्नुपर्दा रियालमा यो मेरो उत्कृष्ट सिजन हो,’ रोनाल्डोले भने, ‘सबै खेलाडीले राम्रो खेल्दै जितका लागि योगदान गरका छन्।’

प्रशिक्षक मिचेलले दिएको विवादास्पद प्रतिक्रियाका कारण पनि मालागाले कस्तो रणनीति अपनाउँछ भन्नेमा सबैको ध्यान केन्द्रित थियो।

रियालका पूर्वखेलाडीसमेत रहेका मिचेलले पूर्वक्लबलाई स्तब्ध पार्नुको साटो ‘गड अफ अनर’ बाट सम्मानित गर्न चाहेको भन्दै उनीहरूले मालागा भ्रमण गर्नुअगावै उपाधिको छिनोफानो भएको हेर्न चाहेको बताएका थिए।

रियालका गोलकिपर केलोर नाभासले सान्ड्रो रामिरेजको फ्रि–किक रोकेपछि मालागा निराश बनेको थियो।

यता बार्सिलोनाले ‘हाम्रा लागि सदाका लागि एक’ लेखिएको ब्यानरबाट सम्मान गर्दै प्रशिक्षक इनरिकेलाई भव्य बिदाइ गरेको थियो।

साथै बार्सिलोनाले २–० ले पछि परेको स्थिति उल्ट्याउदै एइबारसँगको पहिलो हार टारेको थियो।

सातौं मिनेटमा एन्डर चापाको पासमा ताकासिइ इन्युईको गोलमा एइबारले अग्रता लिएको थियो। ६१औं मिनेटमा सेर्गी इनरिचको पासमा इन्युईले गोल गर्दै एइबारको अग्रता दोब्बर पारेका थिए।

६३औं मिनेटमा एइबारका डेभिड ह्नुकाले आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेलमा फर्कने प्रयास गरेको थियो।

७०औं मिनेटमा लियोनेल मेसी पेनाल्टीमा गोल गर्न चुकेपछि बार्सिलोनाले खेलमा बराबरी गर्ने मौका खेर फालेको थियो।  पेड्रो लियोनले जोर्डी अलावामाथि खराब फाउल गरेपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो।

७३औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए।

त्यसको २ मिनेटपछि मेसीले पेनाल्टीमा गरेको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो।  चापाले नेइमारलाई लडाएपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो। चापाले भने दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि एइबारले १० खेलाडीमा सीमित हँुदै खेलको अन्त्य गरेको थियो।

अतिरिक्त समयको दोस्रो मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनाको जित पक्का गरेका थिए।

‘टोलीले यस सिजन धेरै मेहनत गर्‍यो तर जित हार छुट्याउने अन्तर निकै कम छ,’ इनरिकेले भने, ‘म आफूलाई भाग्यमानी ठान्दछु किनभने उनीहरूले मलाई यहाँ खेलाडी र प्रशिक्षकको रूपमा विश्वास गरे।’

‘मैले खेलाडीको रूपमा पनि अनुभव गरेको छु, त्यसैले मैले यसलाई व्यावसायिक जीवनको एक सुखद दिन भनेको हुँ। यो क्लबमा रहँदा मैले सबै कुरा जितेको छु तर एक प्रशिक्षकको रूपमा ला लिगाको उपाधि जित्नु सबैभन्दा सुखद पक्ष हो।’

प्रकाशित: ९ जेष्ठ २०७४ ०४:४९ मंगलबार

ला लिगा उपाधि रियाललाई