खेल

केएनपी जापान भलिबल हुने

काठमाडौं- केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो संस्करण यसै महिनाको अन्त्यमा हुने भएको छ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जेठ २३ गतेदेखि २६ गतेसम्म हुने प्रतियोगितामा प्रतियोगितामा उपाधिका लागि ६ टोलीले लिग कम नकआउट प्रणालीमा प्रतिस्पर्धा गर्ने सोमबार पत्रकार सम्मेलनमा जानकारी गराइयो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल भलिबल संघको सहयोग रहने बताइएको प्रतियोगितामा यसपालि अघिल्लो वर्षको तुलनामा पुरस्कार राशिमा दोब्बर वृद्धि गरिएको छ।

संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले महिला भलिबल विकासका लागि प्रतिष्ठानले थालेको अभियान सराहनीय रहेको बताए। त्यस्तै महासचिव जितेन्द्रबहादुर चन्दले पछिल्लो समय नेपाली भलिबलले प्राप्त गरेको सफलताले सम्पूर्ण खेलकुद क्षेत्रलाई तरंगित गरेको बताए।

प्रतियोगितामा साबिक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लब, उपविजेता न्यु डायमन्ड एकेडेमी, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल भलिबल संघ, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहनेछ।

विजेताले एक लाख ५० हजार, उपविजेताले ७५ हजार र तेस्रो हुने टोलीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई केएनपी जापान सर्वोकृष्ट खेलाडीको उपाधिबाट पुरस्कृत गरिने भएको छ। सर्वोकृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँका साथै काठमाडौं मलेसिया, काठमाडौंको आतेेजाते हवाई टिकट प्राप्त गर्नेछन्। त्यस्तै बेस्ट स्पाइकर, बेस्ट क्विकर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट डिफेन्स र बेस्ट प्रशिक्षक विधामा पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएका छन्। उत्कृष्ट हुने सबै खेलाडीले जनही तीन हजार रुपैयाँ पाउनेछन्। त्यस्तै एक प्रतिभावान् खेलाडी राइजिङ प्लेयरबाट तीन हजार रुपैयाँसहित पुरस्कृत हुनेछन्।

यसै गरी तेस्रो संस्करणमा शेरवहादुर खड्का स्पेशल अवार्डबाट एक खेलाडीलाई नगद १० हजारसहित सम्मान गर्ने अध्यक्ष खड्काले जानकारी दिए।

प्रकाशित: ९ जेष्ठ २०७४ ०४:४६ मंगलबार

केएनपी जापान भलिबल हुने