खेल

स्टेनहोस पहिलो महिला रेफ्री

बर्लिन- शुक्रबार बुन्डेसलिगामा अफिसियलका रूपमा बढुवा भएसँगै एक ३८ वर्षे जर्मन महिला प्रहरी अर्को सिजन युरोपको शीर्ष लिगकै पहिलो महिला रेफ्री बन्ने भएकी छन्। सन् १९९९ मा जर्मन फुटबल एसोसिएसन (डिएफबी) बाट रेफ्री लाइसेन्स लिए पनि बिबियाना स्टेनहोस बुन्डेसलिगाको फोर्थ अफिसियल रहिसकेकाले पनि शीर्ष लिगमा खेल खेलाउँदा उनी सामु कुनै दबाब हुने छैन।

'पुरुष होस् वा महिला, सबै रेफ्रीलाई बुन्डेसलिगामा रेफ्रीका रूपमा सिटी बजाउन पाउनु सधैँ ठूलो सपना हुने गर्दछ,’ स्टेनहोसले भनिन्, ‘मैले विगत केही वर्षमा यसका लागि धेरै मेहनत गरेकी छु र केही उतारचढाबबाट समेत गुज्रेकी छु।’

‘पक्कै पनि म बुन्डेसलिगाको पहिलो महिला रेफ्री हुँदै छु भन्नेबारे म राम्रोसँग जानकार छु र यसलाई सर्वसाधारण र सञ्चारमाध्यमले नजिकबाट नियाल्नेछन्,’ सन् २००७ देखि दोस्रो श्रेणीको ८० खेल खेलाइसकेकी उनले भनिन्, ‘मलाई दबाब झेल्न बानी परिसकेको छ र मैले छिट्टै बुन्डेसलिगामा प्रवेश पाउनेमा म विश्वस्त छु।’

सन् २०१४ को अक्टोबरमा बुन्डेसलिगाको खेलमा रेफ्रीको निर्णयको बारेमा विवाद गर्ने क्रममा बायर्न म्युनिखका तत्कालीन प्रशिक्षक पेप ग्वार्डिओलाले फोर्थ अफिसियल रहेकी स्टेनहोसको काँधमा हात राख्दा उनी सर्वत्र सञ्चारमाध्यममा चर्चामा आएकी थिइन्।

उनले संयमित हुँदै आफ्नो काँधबाट ग्वार्डिओलाको हात तल झारेकी थिइन्  र जर्मन मिडियाले भने अमर्यादित व्यवहार देखाएको भन्दै  ग्वार्डिओलाको विरोध गरेका थिए।

सन् २०१५ को डिसेम्बरमा दोस्रो श्रेणीको लिग दौरान उनले किरेम डिर्मिबेलाई दोस्रो पहंेलो कार्ड देखाउँदै मैदानबाहिर पठाएकी थिइन्।

उक्त समयमा फर्टुना डयुसेलडोर्फका मिडफिल्डर रहेका उनलाई पाँच खेलको प्रतिबन्ध लगाइएको थियो। डिर्मिबेले स्टेनहौसलाई ‘पुरुषहरूको फुटबलमा महिलाको कुनै स्थान हँुदैन ’ भनेपछि उनीमाथि प्रतिबन्ध लगाइएको थियो।

अहिले होफेनहेइमका खेलाडी रहेका डिर्मिबेलाई उनको क्लबले थप सजाय स्वरूप एउटा महिला फुटबल खेलमा रेफ्रीको भूमिकामा  पठाएको थियो।

सन् २०१७–१८ सिजनका लागि बढुवा हुने रेफ्री मध्येकी एक रहेकी उनले जुन १ मा कार्डिफमा हुने महिला च्याम्पियन्स लिगको फाइनल खेलाउनेछिन्।

उनी युरोपका शीर्ष पाँच लिगकै पहिलो महिला रेफ्री हुनेछिन्। डिएफबीका प्रमुख रेइनहार्ड ग्रिन्डेलले स्टेनहोसले अन्य महिलालाई पनि फुटबल खेलसँग जोड्न प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे।

‘मैले धेरै वर्षदेखि उनको यात्रालाई पछ्याइरहेको छु र म उनको यात्रा अझै अघि जाओस् भन्ने चाहन्छु,’ उनले भने।

प्रकाशित: ८ जेष्ठ २०७४ ०४:१८ सोमबार

स्टेनहोस पहिलो महिला रेफ्री