खेल

म्याग्दीलाई प्रदेशस्तरीय महिला भलिबलको उपाधि

पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय महिला भलिबलको उपाधि म्याग्दी जिल्लाले जितेको छ।

शनिबार सम्पन्न भएको फाइनलमा पर्वतलाई पाँचौं सेटमा हराउँदै म्याग्दी च्याम्पियन भएको हो। पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा भएको सनसनीपूर्ण फाइनलमा माग्दीले पर्वतलाई ३–२ को सेटमा हरायो। पहिलो सेट २५–१५ ले आफ्नो बनाउँदै म्याग्दीले पर्वतमाथि दबाब बनायो। तर, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दै पर्वतले उत्कृष्ट पुनरागमनको संकेत गर्‍यो। तथापि, चौथो सेटमार्फत म्याग्दी खेलमा फर्कियो। उक्त सेट म्याग्दीले २५–१५ ले आफ्नो बनाउँदै सेटमा २–२ को बराबरी गर्‍यो।

अन्तिम तथा पाँचौं सेट पनि १५–१० ले जित्दै म्याग्दीले उपाधिमा आफ्नो नाम लेखायो। उपाधिसँगै म्याग्दीले नगद एक लाख र उपविजेता पर्वतले नगद ७० हजार रूपैयाँ र ट्रफी प्राप्त गर्‍यो। प्रतियोगितामा बागलुङ जिल्ला तेस्रो भयो।

बागलुङले स्याङ्जालाई ३–१ सेटले हराउँदै तेस्रो स्थान प्राप्त गरेको हो। पहिलो सेट २५–१९ ले गुमाए पनि बागलुङले त्यस पछिका तीन सेट लगातार आफ्नो बनाउँदै नगद ४० हजार रूपैयाँ पुरस्कार राशि जित्यो। बागलुङले दोस्रो, तेस्रो र चौथो सेट क्रमशः २५–१२, २५–२३ र २५–१५ ले आफ्नो बनाएको थियो।

प्रतियोगितामा पर्वतकी पूजा सेन ठकुरी उत्कृष्ट खेलाडी घोषित भइन्। उत्कृष्ट स्पाइकरमा म्याग्दीकी पवित्रा श्रीपाली र उत्कृष्ट सेटरमा म्याग्दीकी रेविना घर्तीमगर चयन भए। उत्कृष्ट सबैले नगद पाँच हजार रूपैयाँसहित ट्रफी पाए।

विजेतालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीलगायतले पुरस्कृत गरेका थिए। प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको व्यवस्थापनमा भएको प्रतियोगितामा ११ जिल्लाले प्रतिस्पर्धा गरेका थिए। 

प्रकाशित: १७ असार २०८० ०४:४४ आइतबार

गण्डकी प्रदेशस्तरीय महिला भलिबल पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहल