खेल

क्यानको निर्वाचन असोज पहिलो साता

नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन असोज पहिलो साता हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को शुक्रबार बसेको बोर्ड बैठकले आगामी असोज ५ र ६ गते चुनावी साधारण सभा गर्ने निर्णय गरेको हो। क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले असोजमा पहिलो साता क्यानको चुनावी साधारणसभा गर्ने निर्णय भएको जानकारी दिए।  

त्यसअघि साउनको अन्तिमसम्म जिल्ला र भदौ १० गतेसम्म प्रदेशको निर्वाचन गर्ने निर्णय गरेको छ। यी निर्वाचन अनुगमनका लागि क्यानले कानुनी सल्लाहकार रोचक रेग्मीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। उक्त बोर्ड बैठकले मुख्य ९ वटा निर्णय गरेको छ।

पुरुष र महिलाको राष्ट्रिय टोलीका खेलाडीको आगामी ६ महिनाका लागि वर्गीकरण गर्ने जिम्मेवारी केन्द्रीय सदस्य ऋषिराम गौतमको संयोजकत्वमा गठित समितिलाई जिम्मवारी दिइएको छ। उक्त समितिमा क्रिकेट म्यानेजर विनोद दास र राष्ट्रिय टिम छनोट समितिका संयोजक दीपेन्द्र चौधरी छन्।  

महाप्रबन्धक वृत्तान्त खनालले दिएको राजीनामा पनि बोर्ड बैठकले स्वीकृत गरेको छ। उनी गत २०७९ को वैशाखदेखि क्यान महाप्रबन्धकको जिम्मेवारीमा थिए।

नेपाल प्रिमियर लिग (एनपिएल) र एभरेस्ट प्रिमियर लिग (इपिएल) आयोजनाका लागि पनि क्यानले समिति गठन गरेको छ। एनपिएलको आयोजना गर्ने सम्बन्धमा सुझाव पेस गर्न केन्द्रीय सदस्य पदमबहादुर खड्काको संयोजकत्वमा गठित समितिलाई जिम्मेवारी दिइएको छ।  

इपिएललगायतको फ्रेन्चाइज आयोजनाका लागि भने केन्द्रीय सदस्य दाउद अन्सारीको संयोजकत्वमा गठित समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न बैठकले निर्देशन दिएको छ। त्यस्तै शुक्रबार बैठकले मूलपानी क्रिकेट  

मैदानको नाम जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान नामकरण गर्ने निर्णय गरेको छ। महाप्रबन्धक वृत्तान्त खनालले दिएको राजीनामा पनि बोर्ड बैठकले स्वीकृत गरेको छ। उनी गत २०७९ को वैशाखदेखि क्यानमा महाप्रबन्धकको जिम्मेवारीमा थिए।  

खनालले केही दिनअघि मात्र अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारीलाई इमेलमार्फत राजीनामा बुझाएका हुन्। जुन शुक्रबारको बैठकले स्वीकृत गरेको हो। क्यानले गत वर्ष तत्कालीन महाबन्धक रौनक मल्लको करार नवीकरण नगर्ने निर्णय गर्दै सो पदमा दरखास्त आह्वान गरेको थियो। सोही प्रक्रियाअन्तर्गत खनाल महाप्रबन्धकमा नियुक्त भएका हुन्।  

प्रकाशित: १६ असार २०८० ०१:५७ शनिबार

क्यानको निर्वाचन असोज पहिलो साता