रोसेयु – अजहर अलीले करियरको १४औं शतक प्रहार गरेपछि पाकिस्तानले बिहीबार वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा अन्तिम टेस्टको दोस्रो दिन पहिलो इनिङमा ३ सय ७६ रनको योगफल खडा गरेको छ ।
बिहीबारै आफ्नो पहिलो इनिङ सुरु गरेको वेस्ट इन्डिजले विना क्षती १४ रन बनाएको छ । ओपनरद्धय क्राएग ब्रेथह्वाइट र किरन पावेल क्रमश ५ र ९ रनमा खेलिरहेका छन् ।
१६९–२ बाट दोस्रो दिनको खेल सुरु गरेको पाकिस्तानले बिहानी सत्रमा रन जोड्न संघर्ष गर्नु परेको थियो । पाकिस्तानले २८ ओभरमा ५८ रन मात्र बनाएको थियो । १८ रन जोडेका भेट्रान ब्याटस्म्यान युनिस खानलाई जेसन होल्डरले एलबीडब्लुको शिकार बनाएका थिए । तर अहजरले चौथो विकेटका लागि कप्तान मिसबाह उल हकसँग ६४ रनको साझेदारी गर्दै पाकिस्तानको इनिङ उकासेका थिए । ८ घन्टा मैदानमा विताएका अजहरले रोस्टन चेसको बलमा बोल्ड हुनु अघि १ सय २७ रन जोडे । जारी शृंखलामा उनको यो लगातार दोस्रो शतक हो । उनले दोस्रो टेस्टको पहिलो इनिङमा पनि शतक प्रहार गरेका थिए । ३ सय ३३ बल खेलको उनले ८ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै १ सय ४८ बल खेलेका मिसबाहले ६ चौका र १ छक्का प्रहार गरे भने विकेटकिपर ब्याटस्म्यान सरफराज अहमदले ७३ बलमा ५१ रनको योगदान गरे । उनले ४ चौका प्रहार गरे ।
वेस्ट इन्डिजका चेसले १ सय ३ रन खर्चदै ४ विकेट लिए भने होल्डरले ७१ रन खर्चदै ३ विकेट लिए । त्यस्तै देवेन्द्र विश्वले ३ र अल्जारी जोसेफले १ विकेट लिए ।
प्रकाशित: ३० वैशाख २०७४ ०३:२२ शनिबार