खेल

मनोहर २०१८ जुनसम्म यथावत्

नयाँ दिल्ली- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले बुधबार भारतका शशांक मनोहर सन् २०१८ को जुनसम्म आइसिसीको प्रमुखका रूपमा रहने बताएको छ।

गत मार्चमा मनोहरले व्यक्तिगत कारण देखाउँदै आइसिसी प्रमुखबाट राजीनामा दिएका थिए र अप्रिलमा बस्ने बोर्ड बैठकमा प्रमुख विषयमा सुधारका लागि मतदान गर्नुपर्ने भन्दै राजी भएपछि उनी आफ्नो पूर्व जिम्मेवारीमा फर्किएका थिए।

गत वर्ष आइसिसीको प्रमुखमा नियुक्त भएसँगै उनले आफ्नो नेतृत्वमा भारत, अस्ट्रेलिया र इङ्ल्यान्डजस्ता शक्तिशाली राष्ट्रको दबाब भंग गर्ने गरी सुधारका कार्यक्रम ल्याएका थिए।

गत महिना सम्पन्न आइसिसीको बैठकले सबै सदस्य राष्ट्रलाई समान रूपमा रकम बाँड्ने निर्णय अघि सारेको थियो। उक्त निर्णयसँगै भारतले पाउँदै आएको रकममा भारी कटौती भएको थियो।

मनोहरले गत फेब्रुअरीमा विश्व क्रिकेटलाई एक कदम अघि लाने भनी वर्णन गरेको पुनर्निर्माणको योजनालाई अस्ट्रेलिया र इङ्ल्यान्डजस्ता अधिकांश टेस्ट राष्ट्रले स्वीकार गरे पनि भारतले भने त्यसको विरोध गरेको थियो।

आइसिसीको यस निर्णयसँगै भारतीय क्रिकेट बोर्ड बिसिसिआईले आगामी ८ वर्षमा प्राप्त गर्ने रकममा २ सय ७७ मिलियन डलर कटौती भएको थियो भने अन्य कमजोर मानिएका टेस्ट राष्ट्र र अफगानिस्तान तथा आयरल्यान्डजस्ता एसोसियट राष्ट्रलाई भने यस निर्णय फाइदाजनक हुने देखिएको थियो।

भारतले उक्त निर्णयको विरोधस्वरूप आइसिसीले तोकेको मिति सकिँदासम्म च्याम्पियन्स ट्रफीका लागि टोलीको अन्तिम नामावली दिएको थिएन। साथै इङ्ल्यान्डमा हुने प्रतियोगिताबाट नाम फिर्ता लिने चेतावनी दिएको थियो। तर भारत त्यस निर्णयमा सहमत हुँदै यसै साता टोलीको घोषणा गरेको थियो।

नयाँ आर्थिक योजना र सुधारका योजनाहरू जुनमा बस्ने आइसिसी वार्षिक बैठकले स्वीकृत गर्ने बताइएको छ।

प्रकाशित: २८ वैशाख २०७४ ०३:०२ बिहीबार

मनोहर २०१८ जुनसम्म यथावत्