खेल

उपविजेता नेपाल भारतसँग स्तब्ध

भारतीय खेलाडीसँग बलका लागि संघर्ष गर्दै नेपालका मनीष डाँगी।तस्बिर सौजन्य : एआइएफएफ

साबिकको विजेता भारतसँग २–० ले पराजित भएसँगै नेपालको साफ च्याम्पियनसिप २०२३ को यात्रा समूहचरणमा नै सीमित भएको छ।

शनिबार सम्पन्न समूह ‘ए’ को दोस्रो खेलमा नेपाल भारतसँग पराजित भएसँगै सेमिफाइनल प्रवेश गर्ने दुई टोलीको टुङगो लागेको छ।दुई खेलमा सतप्रतिशत नतिजा निकालेको कुवेत र भारतले सेमिफाइनलमा स्थान बनाउँदा नेपाल र पाकिस्तान भने एक खेल बाँकी छँदा समूहचरणबाटै बाहिरिने पक्का भएको हो।शीर्ष स्थानको कुवेतको ६ अंक छ भने दोस्रो स्थानको भारतको पनि समान ६ अंक नै छ।तेस्रो स्थानको नेपाल र चौथो स्थानमा रहेको पाकिस्तान भने दुई खेलमा जितविहीन छन्।

पहिलो खेलमा कुवेतसँग ३–१ ले पराजित नेपालका लागि अघिल्लो चरण प्रवेश सम्भावना कायम राख्न भारतविरुद्ध जित बाहेकको विकल्प थिएन। शनिबार सम्पन्न पहिलो खेलमा पाकिस्तानमाथि ४–० को जितसहित कुवेतले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको थियो। यससँगै नेपालमाथि जितको दबाब थपिएको थियो।भारतको भने अघिल्लो चरण प्रवेशका लागि बराबरीको नतिजासमेत पर्याप्त बन्न सक्थ्यो।

भारतले मंगलबार कुवेतविरुद्ध हुने समूहचरणको अन्तिम खेललाई ध्यान दिँदै पाकिस्तानविरुद्ध बुधबार पहिलो खेलमा उतारेको टोलीमा आठ खेलाडी परिवर्तन गरेको थियो। पहिलो खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई ४–० ले हराएको थियो। माल्दिभ्समा सम्पन्न पछिल्लो संस्करणमा फाइनल प्रवेश गरेको नेपाल यसपटक भने समूहचरण पार गर्न सकेन।गत संस्करणको फाइनलमा पनि नेपालले भारतलाई नतिजा सुम्पिएको थियो।

पहिलो हाफमा भारतमाथि दबाब राख्दै गोलरहित बराबरी गरे पनि दोस्रो हाफमा सम्हालिन नसक्दा नेपाल पराजित भएको हो। ६१औं मिनेटमा कप्तान सुनील क्षेत्रीको गोलमा भारतले अग्रता लिएको थियो। क्षेत्रीले महेश सिंहको पासलाइ जाली चुमाएका हुन्। जारी प्रतियोगितामा उनका लागि यो चौथो गोल हो। पाकिस्तानविरुद्धको खेलमा क्षेत्रीले ह्याट्रिक पूरा गरेका थिए। ७०औं मिनेटमा महेश सिंहले काउन्टर अट्याकमा गोल गर्दै भारतको अग्रता दोब्बर पारेका थिए।

समूह ‘ए’ को दोस्रो खेलमा शनिबार भारतसँग २–० ले पराजित भएसँगै नेपालको सेमिफाइनल पुग्ने लक्ष्य पूरा हुन सकेन। यो समूहबाट दुई खेलमा सतप्रतिशत नतिजा निकालेका कुवेत र भारतले सेमिफाइनलमा स्थान बनाउँदा नेपाल र पाकिस्तान भने एक खेल बाँकी छँदा नै समूहचरणबाटै बाहिरिने पक्का भयो।

यसअघि खेलको १७औं मिनेटमा नेपालले अग्रता लिने अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन।लाकेन लिम्बुको कर्नरमा भारतका रक्षकले नियन्त्रणमा लिन नसक्दा प्राप्त बललाई एरिक विष्टले गरेको प्रहार घरेलु टोलीका गोलकिपर गुरप्रीत सिंह साधुले पञ्च गर्दै विफल पारेका थिए।भारतविरुद्धको खेलसँगै नेपालका लागि सीमान्त थापाले राष्ट्रिय टोलीबाट डेब्यु गरे।उनी ६८औं मिनेटमा सनिष श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका हुन्।नेपालले समूहचरणको अन्तिम खेलमा मंगलबार पाकिस्तानको सामना गर्नेछ। 

प्रकाशित: १० असार २०८० ०१:३५ आइतबार

उपविजेता नेपाल भारतसँग स्तब्ध