ब्रिजटाउन- मिसवाह उल–हक लागातार दोस्रो खेलमा शतक बनाउन चुके पनि अजर अलीले तेहेरो अंकमा रन बनाएपछि पाकिस्तानले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा ८१ रनको अग्रता लिएको छ।
तेस्रो दिनको समाप्तिमा पाकिस्तानले सबै विकेट गुमाएर ३ सय ९३ रनको स्कोर बनायो। त्यसअघि घरेलु टोली वेस्ट इन्डिजले पहिलो इनिङमा ३ सय १२ रन बनाएको थियो। मोहम्मद अब्बासले किरण पावेललाई पवेलियनको बाटो देखाएपछि वेस्ट इन्डिजले दोस्रो इनिङमा १ विकेट गुमाएर ४० रन बनाई खेलिरहेको छ। ओपनर क्रिग ब्रेथह्वाइट ८ र शिमरोन हेटमेयर २२ रन बनाएर क्रिजमा रहँदा घरेलु टोली अझै ४१ रनले पछि छ।
पाहुना टोली पाकिस्तानले १७२–२ को अवस्थामा तेस्रो दिनको सुरुआत गर्दा अली ८१ र मिसबाह ७ रनको स्थितिमा थिए। जमैकामा सम्पन्न पहिलो टेस्टमा ९९ रनमा अविजित रहेका मिसबाह बार्बाडोसस्थित किंगसटन ओभलमा पनि शतकबाट १ रनले चुके। जसोन होल्डरको एलविडब्लु अपिलबाट बचेका मिसबाह लगत्तै अर्को बलमा स्लिपमा शाई होपको हातबाट क्याच भएका थिए।
करिब पाँच घन्टा क्रिजमा रहेर २ सय १ बलको सामना गरेका मिसबाह जारी शृंखलामा आउट भएको यो पहिलो हो। यसअघि पहिलो टेस्टको दुवै इनिङमा उनी अविजित रहेका थिए। ९ चौका र २ छक्का प्रहार गरेका मिसबाह आउट भएपछि असद सफिकसँग पाँचौं विकेटका लागि गरेको ५७ रनको साझेदारी टुटेको थियो। मिसबाहले त्यसअघि कप्तान अजर अलीसँग चौथो विकेटका लागि ९८ रनको साझेदारी गरेका थिए।
अलीले मध्यदिनमा पाकिस्तानका लागि १३औं टेस्ट शतक पूरा गरे। ९ चौकासहित १ सय ५ रन बनाएका अली देवेन्द्र बिशुको बलमा शन डोरिचमार्फत क्याच भएका थिए। अलीले पहिलो विकेटका लगि अहमद शेहजादसँग १ सय ५५ रनको साझेदारी गरेका थिए। बिशुको यो तेस्रो विकेट थियो।
१ सय १६ रन दिएर ३ विकेट लिएका विशुले पहिले युनिस खान र शेहजादलाई पवेलियनको बाटो देखाएका थिए। वेस्ट इन्डिजका होल्डरले ४२ रन दिएर ३ विकेट लिँदा शनन गाब्रियलले ८१ रन दिएर ४ विकेट हात पारे।
पाकिस्तानका लागि यासिर शाहले २४ रन बनाउँदा शाडब खानले १६ तथा मोहम्मद आमिरले १० रन बनाएका थिए। असद सफिकले १५ रन बनाए।
‘यो पिचमा ब्याटिङ गर्न धेरै कठिन थियो। हामीले कडा मिहिनेत गरेर पहिलो इनिङमा अग्रता लिनु महŒवपूर्ण हो,’ पाकिस्तानका प्रशिक्षक मिकी अर्थरले भने, ‘चौथो दिनमा हाम्रा स्पिनरले राम्रो बलिङ गर्नु आवश्यक छ किनकि यहाँ चौथो इनिङमा सानो लक्ष्य पछ्याएर जित्न पनि धेरै गाह्रो छ।’
प्रकाशित: २१ वैशाख २०७४ ०४:२६ बिहीबार