खेल

विदेशीले पूरा गरे स्केट पार्क

सन्तोष सुवेदी
पोखरा- विदेशी कामदारले पोखराको रंगशालामा स्केट पार्क निर्माण सम्पन्न गरेका छन्। १२ देशका ५० बढी कामदारले २२ दिनमा स्केट पार्क तयार पारेका हुन्। निर्माणका लागि आवश्यक इन्जिनियर, प्राविधिकसहित सबै काम गर्ने जनशक्ति विदेशी नै थिए। उक्त स्केट पार्क नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरको रूपमा लिइएको छ। 
स्केट पार्कलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल र मेक लाइफ, स्केट लाइफका अप्रेसन म्यानेजर जोन चोकोन्ससले संयुक्त रूपमा उद्घाटन गरे। जोन चोकोन्सका अनुसार नेपाली २३ लाख रुपैयाँमा स्केट पार्क निर्माण सम्पन्न भएको छ। उनले स्केट खेलको विकास र विस्तार गर्ने उद्देश्यले जुन देशमा पूर्वाधार छैन, त्यहाँ पूर्वाधार निर्माण गर्दै आएको सुनाए। 
५ सय वर्गमिटरमामा पार्कलाई तयार पारिएको छ। यहाँबाट टोकियोमा हुने २०–२० ओलम्पिक गेम स्केटिङमा नेपालको तर्फबाट प्रतिनिधि खटाइनेछ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले स्केटिङ सिकाउनका लागि छिट्टै प्रशिक्षक उपलब्ध गराइने बताए। 
उनले पोखरालाई खेलकुदको राजधानी बनाउनमा स्केटिङले थप महŒव राख्ने प्रस्ट्याए।  स्केटको व्यावसायिक विकास एक दशकअघि पोखरामा भए पनि पूर्वाधारको अभावमा खेलाडी उत्पादन गर्न सकेको थिएन। स्केट पार्कमा पोखरा मात्र नभई नेपालभरबाट प्रशिक्षार्थी सिक्न आउने पौडेलले बताए। 
 

प्रकाशित: १९ वैशाख २०७४ ०५:४० मंगलबार

विदेशीले पूरा गरे स्केट पार्क