खेल

अनाथका लागि तेक्वान्दो तालिम

काठमाडौं- अनाथ र असहाय बालबालिकालाई लक्षित गरी नेपाल तेक्वान्दो संघले तेक्वान्दो विशेष तालिम सुरु गरेको छ। 'लेट्स बिल्ड दी फ्युचर विथ तेक्वान्दो' भन्ने मूल नाराका साथ दशमहिने तेक्वान्दो तालिम सुरु भएको हो। उक्त कार्यक्रममा अनाथ र असहाय बालबालिका संरक्षित कुल आठ संस्थाको सहभागिता छ।

उद्घाटनमा कुल २ सय ७० बालबालिकाको सहभागिता  थियो। उनीहरूले तेक्वान्दो डेमान्स्टे्रसन र नाच प्रस्तुत गरेका थिए। दश महिना अवधिभर खेलाडीलाई निशुल्क ग्रेडिङ र प्रतियोगितामा सहभागी गराइने संघले जनाएको छ। उक्त तालिममा सहभागी खेलाडीलाई खेलकुद सामग्री पनि प्रदान गर्ने संघले जनाएको छ। विशेष प्रशिक्षणमा सहभागी सबै आश्रममा तेक्वान्दो प्रशिक्षण दिन संघले प्रशिक्षकहरू खटाउनेछ । संघले प्रशिक्षकका लागि पनि प्रशिक्षण गर्ने भएको छ।

विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ) को सहयोगमा विशेष प्रशिक्षणमा आराधना तेक्वान्दो डोजाङ, नाइट भिजन, मुस्कान सेवा, नेकोस होम, इसिडिसी र असहाय बालकेन्द्र (पोखरा) लगायत आश्रमको सहभागिता रहेको छ।

कार्यक्रमको उद्घाटनका अवसरमा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले यस्ता कार्यक्रमले देशमा ऐतिहासिक नतिजा कायम गर्दै आएको तेक्वान्दोले थप नयाँ भविष्यरेखा कोर्ने बताए।

कार्यक्रममा नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले  तेक्वान्दो खेल मात्र नभएर शिक्षा पनि भएको बताए। उनले भने, 'हामी सामाजिक क्रियाकलापमार्फत तेक्वान्दो खेल विकासमा अग्रसर भएका छौं।' सो अवसरमा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटलगायतको उपस्थिति थियो।

प्रकाशित: १९ वैशाख २०७४ ०५:३८ मंगलबार

अनाथका लागि तेक्वान्दो