खेल

सिद्धार्थलाई दोहोरो स्वर्ण

सिद्धार्थ लामा तामाङले जर्मन ओपन इन्टरनेसनल च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका छन्। सिद्धार्थले दुई फरक स्पर्धामा स्वर्ण जितेको नेपाल उमा कुङ्फु संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक सन्जितकुमार राईले जनाएका छन्।

 जर्मनीको सिमर्नमा जुन १६ देखि १८ तारिखसम्म भएको प्रतियोगितामा सिद्धार्थले पहिलो स्वर्ण सफ्ट स्टायल एमभी ब्ल्याकबेल्ट स्पर्धामा जित्न सफल भए। जर्मनीका इभा मुगले रजत तथा स्विट्जरल्यान्डका लिएस रिमरले कांस्य पदक प्राप्त गरे। सिद्धार्थले अर्को स्वर्ण चाइनिज फर्म स्पर्धामा जिते। अस्ट्रियाका जान मुग दोस्रो तथा जर्मनीका मालीबु तेस्रो भए।

पेसाले कानुन व्यवसायीसमेत रहेका सिद्धार्थ नेपाल उमा कुङफु संघका अध्यक्ष हुन्। उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिकासमेत निर्वाह गरिसकेका छन्। उनी अस्ट्रियामा मुख्यालय रहेका वल्र्ड मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी) का एसियाली निर्देशक पनि हुन्। नेपाल उमा कुङफु संघका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ सिद्धार्थका गुरु हुन्। प्रतियोगितामा नेपालसहित फ्रान्स, अस्ट्रिया, स्विट्जरल्यान्ड, अमेरिका, चेक रिपब्लिक, इरान, बेल्जियम र जर्मनी गरी ९ राष्ट्रका करिब एक हजार १ सय खेलाडीको सहभागिता रहेको उमा कुङ्फु संघले जनाएको छ।

प्रकाशित: ५ असार २०८० ०२:०३ मंगलबार

सिद्धार्थलाई दोहोरो स्वर्ण