खेल

प्रकाश स्मृति बक्सिङको तयारी पूरा

असार तेस्रो साताबाट आयोजना हुने प्रकाश दाहाल स्मृति तेस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।

आगामी असार १७ देखि २० गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक अखिल नेपाल खेलकुद संघका अध्यक्ष अर्जुनबहादुर केसीले पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रतियोगिताका खेलहरू काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२ स्थित भंगालको सामुदायिक भवनमा हुने आयोजक संघका सचिव राजन लामिछानेले जानकारी दिए। प्रतियोगितामा पुरुषतर्फ १३ र महिलामा ९ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता संयोजकसमेत रहेका नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीले प्रत्येक तौलसमूहका विजेतालाई नगद पुरस्कार प्रदान गरिने बताए।

प्रतियोगितामा पुरुषतर्फ ४८ केजीमुनि, ५१ केजीमुनि, ५४ केजीमुनि, ५७ केजीमुनि, ६३ केजीमुनि, ७१ केजीमुनि, ७५ केजीमुनि, ८० केजीमुनि, ८६ केजीमुनि ९२ केजीमुनि र ९२ केजीमाथिको तौलसमूहमा प्रतिस्पर्धा हुनेछ।

यस्तै महिलामा ४८ केजीमुनि, ५० केजीमुनि, ५२ केजीमुनि, ५४ केजीमुनि, ५७ केजीमुनि, ६० केजीमुनि, ६३ केजीमुनि, ६६ केजीमुनि र ७५ केजी तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। यसअघिका संस्करणमा ओलम्पिक तौलसमूहमा मात्र समावेश गरिए पनि खेलाडीले अन्य तौलसमूह पनि खेलाउन आग्रह गरेकाले तौलसमूह थपिएको केसीले जानकारी गराए।

नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगितामा तीन विभाग र सात प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने संयोजक केसीले जानकारी दिए।

प्रकाशित: ४ असार २०८० ०२:५० सोमबार

प्रकाश स्मृति बक्सिङको तयारी पूरा अखिल नेपाल खेलकुद संघका अध्यक्ष अर्जुनबहादुर केसी