खेल

श्रीभगवतीले जित्यो सिन्धु कप

सिन्धु कपको साथमा विजेता श्रीभगवती टोखा यूथ क्लबको टोली। तस्बिर: ध्रुव/नागरिक

नवौँ संस्करणको सिन्धु कप फुटबल प्रतियोगिताको उपाधि श्रीभगवती टोखा यूथ क्लबले जितेको छ।

काभ्रे फुटबल संघलाई पेनाल्टी सुट-आउटमा स्तब्ध पार्दै श्रीभगवतीले सिन्धुपाल्चोकको खेलकुद इतिहासको सबैभन्दा पुरानो र चर्चित प्रतियोगिताको उपाधि हात पारेको हो। 

लामोसाँघुको वसन्तपुर खेल मैदामा भएको फाइनलको पेनाल्टी सुट-आउटमा श्रीभगवतीले काभ्रेलाई ४–२ गोलले निराश बनायो।

श्रीभगवतीको जितमा गोलकिपर जिगारत शेखले म्यान अफ द म्याच प्रदर्शन गरे। दुई पेनाल्टी पोलमा लागेर फर्कँदा दबाबमा परेको काभ्रेको निर्णायक प्रहार उनले रोकेका थिए।

रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलेको निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुट-आउटबाट विजेताको टुंगो लगाइएको हो, जहाँ श्रीभगवतीले बाजी मार्‍यो। खेलको ३३ औँ मिनेटमा काभ्रेका देवराज तामाङले गोल गरेर टोलीलाई अग्रता दिएका थिए। गोल खाएपछि दबाबमा लय गुमाएको श्रीभगवतीलाई ७८ औँ मिनेटमा विदेशी खेलाडी फोडे फोफानाले बराबरी गोल गर्दै खेलमा फर्काएर जितको आशा जगाएका थिए।

विजेता श्रीभगवतीले सिन्धु कपको साथमा नगद २ लाख रुपैयाँ पुरस्कार पायो। उपविजेता काभ्रेले नगद १ लाख रुपैयाँ पुरस्कार हात पार्‍यो। फाइनल खेलमा म्यान अफ द म्याच घोषित श्रीभगवतीका गोलकिपर म्यान अफ द म्याच भए।

प्रतियोगिताको व्यक्तिगत उपाधितर्फ श्रीभगवतीकै बर्चश्य रह्यो। जिगारत्न शेख उत्कृष्ट गोलकिपर, अमित लामा उत्कृष्ट मिफिल्डर, निराजन धामी उत्कृष्ट स्ट्राइकर घोषित हुँदा श्रीभगवतीकै महेश श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए। काभ्रेका सञ्जिव राईले उत्कृष्ट डिफेन्डर र विदेशी खेलाडी अभियोमीले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते। विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले ट्रफीको साथमा जनही ५ हजार रुपैयाँ नगद पुरस्कार पाए।

विजयी टोली तथा खेलाडीलाई संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ लगायतले ट्रफी, मेडल र नगद पुरस्कार वितरण गरेका थिए। यूथ स्पोर्ट्स क्लब लामोसाँघुको आयोजनामा जेठ २८ गतेबाट सुरु प्रतियोगितामा विभिन्न आठ टिमले प्रतिस्पर्धा गरेका थिए।

अघिल्ला संस्करणमा ए र बी डिभिजन लिग खेल्ने टिमले भाग दिँदै आए पनि यो पटक त्यस्ता क्लबले सहभागिता जनाएनन्। क्लबका अध्यक्ष उमेश प्रधानले दसौँ संस्करणको प्रतियोगिता आगामी फागुनमा आयोजना गरिने जानकारी दिए। क्लबले २०४८ देखि यो प्रतियोगिता खेलाउँदै आएको छ।

प्रकाशित: ३ असार २०८० १३:१२ आइतबार

सिन्धु कप