खेल

अभिषेक र अभिलाषा सिंगल्स च्याम्पियन

अभिषेक बाँस्तोला र अभिलाषा विष्टले प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको मुख्य स्पर्धा सिंगल्स उपाधि  जितेका छन्। उपाधि दाबेदार मानिएका अभिषेक पुरुष तथा अभिलाषा महिलामा च्याम्पियन बने।

राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा आज संघर्षपूर्ण जित हात पार्ने क्रममा अभिषेकले प्रदीप खड्कालाई १–६, ६–१ र ७–६ को सेटमा पराजित गरे। प्रणव खनाल र आर्यन गिरी तेश्रो भए।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको महिलाको उपाधि भिडन्तमा अभिलाषाले सुनिरा थापालाई ६–३ र ६–२ को सोझो सेटमा हराइन्। प्रकृति श्रेष्ठ र आइशा डोल्कर गुरुङ तेश्रो बने। पुरुष÷महिला सिंगल्सका विजेताले १ लाख, उपविजेताले ५० हजार र तेश्रोले १२ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा सन्तोष खत्री पहिलो भए। उनले फाइनलमा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियारलाई सीधा सेटमा ७–५ र ६–४ ले पाखा लगाए। सन्तोषले ६० हजार तथा जितेन्द्रले ३० हजार नगद पुरस्कार पाए। तेश्रो भएका कमलबहादुर अधिकारी र दावा सोनाम शेर्पाले १०–१० हजार नगद पुरस्कार हात पारे।

विजेतालाई पूर्व उप प्रधानमन्त्री कमल थापा, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुल, आयोजक एकेडेमीका अध्यक्ष रविन प्रधान र प्रमुख कार्यकारी अधिकृत सिमान्त गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। 

नेपाली टेनिसकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा खुला, भेट्रान र जुनियर गरी २४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो। प्रत्येक स्पर्धाका पदक विजेतालाई पुरस्कार प्रदान गरिएको थियो। कुल पुरस्कार राशी १४ लाख ८५ हजार रुपैयाँ थियो। असार २७ गतेदेखि सुरु प्रतियोगितामा २ सय ६२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २ असार २०८० १२:५० शनिबार

अभिषेक र अभिलाषा सिंगल्स च्याम्पियन