खेल

एशियन गेम्सको लागि आर्चरीका खेलाडी छनोट

चीनको हाङझाउमा हुने १९ औं एसियन गेम्सको लागि आर्चरीबाट चार जना खेलाडी छनोट भएका छन्। पोखरा रंगशालामा शनिबार भएको अन्तिम छनोट प्रतिस्पर्धामा चार जना खेलाडी छनोट गरिएको नेपाल आर्चरी संघमा वरिष्ठ उपाध्यक्ष वसन्त थकालीले बताए।

पुरुष रिकर्भ तर्फ तिलक पुन मगर, महिला रिकर्भमा मन्जु बजगाईँ रहेका छन्। तिलक दोस्रो पटक एसियन गेम्सका लागि छनोट भएका छन्। उनले पोखराका अशिम शेरचनलाई पछि पार्दै एसियन गेम्समा छनोट भएका हुन्। छनोट चरणमा पुनमगरले १२६७ स्कोर हिर्काएका थिए।  पोखराका अशिम शेरचनले भने १२५८ को स्कोर हिर्काएका थिए। केवल ९ स्कोर बढी हिर्काउँदै पुनमगरले एसियन गेम्समा छनोट पक्का गरेका हुन्। पुनमगर नेपाल पुलिस क्लबमा आबद्ध हुन।

यसै गरी कम्पाउण्डको पुरुष तर्फ योगेन्द्र शेरचन र महिला तर्फ नेपाल आर्मीबाट खेल्दै आएकी इमायुङ राई छनोट भएकी हुन्। शेरचनले १२८९ स्कोर हिर्काएका थिए भने राईले १३०३ स्कोरसहित छनोट हुन सफल भइन्। शेरचन, राई र रिकर्भकी बजगाईँको पहिलो एसियन गेम्स हुने नेपाल आर्चरी संघले जनाएको छ।

एसियन गेम्सको लागि छनोटमा रिकर्भ पुरुषमा ४ जना सहभागी थिए। महिला रिकर्भमा पनि ४ जनाले प्रतिस्पर्धा गरेका थिए। कम्पाउण्ड तर्फ महिला र पुरुष तर्फ तीन तीन जना अन्तिम छनोटमा प्रतिस्पर्धामा थिए। रिकर्भ तर्फ ७० मिटर र कम्पाउण्ड तर्फ ५० मिटरमा प्रतिस्पर्धा गरेका थिए।

बन्द प्रशिक्षण भने राष्ट्रिय खेलकुद परिषद्ले तय गरेपछि मात्रै सुरु हुने छ। छनोट भएका खेलाडीहरुलाई पोखराको आर्चरी मैदान प्रशिक्षण गराइने संघका वरिष्ठ उपाध्यक्ष थकालीले जानकारी दिए।

प्रकाशित: २ असार २०८० १०:०९ शनिबार

आर्चरी एशियन गेम्स