खेल

अन्तिम बलमा पुने विजयी

पुने- कप्तान महेन्द्र सिंह धोनीले अन्तिम बलमा चौका प्रहार गरेपछि राइजिङ पुनेले इन्डियन प्रिमियर लिग(आइपिएल)मा शनिबार सनराइज हैदराबादलाई ६ विकेटले पराजित गरेको छ। पुनेलाई जितका लागि अन्तिम बलमा २ रन आवश्यक थियो। कप्तान धोनीले चौका प्रहार गरेपछि पुनेले १ सय ७७ रनको विजयलक्ष्य ४ विकेटको नोक्सानीमा हासिल गर्‍यो। पुनेका लागि कप्तान धोनीले अविजित ६१ रन, ओपनर राहुल त्रिपाठीले ५९ रन बनाए। सुरुआतमा ब्याटिङ गरेको हैदराबादका लागि मोइसेज हेनरिकले अविजित ५५ रन, ओपनर डेविड वार्नरले ४३ र शिखर धवनले ३० रन जोडे।

यसैगरी अर्को खेलमा गुजरात लायन्सले सफलता हासिल गरेको छ।  कोलकाता नाइट राइर्डसविरुद्धको खेलअघि गुजरात लायन्सका कप्तान सुरेश रैनाले शुक्रबारको खेलबाट टोली लयमा फर्कने विश्वास व्यक्त गरेको थिए।  टोली विगतको कमजोरीलाई कम गर्दै जित हासिल गर्ने लक्ष्यमा अगाडि बढ्ने बताएका थिए। कप्तान रैनाले उत्कृष्ट ब्याटिङ गरेपछि अंकतालिकाको पुछारमा रहेको गुजरातले कोलकातालाई ४ विकेटले हराउँदै सुखद नतिजा हासिल गरेको छ। जितपछि गुजरात राइजिङ पुनेलाई पछि पार्दै एक स्थान माथि सातांै स्थानमा पुग्यो।

गुजरातको जितमा कप्तान रैनाले सानदार ब्याटिङ गरे। म्यान अफ द म्याच प्रदर्शन गरेका रैनाले ४६ बलमा ८४ रन प्रहार गरेपछि गुजरातले १० बलअगावै १ सय ८८ रनको विजयलक्ष्य पूरा गरेको थियो। रैनाले ९ चौका र ४ छक्का प्रहार गरेपछि गुजरातले आइपिएलमा उच्च स्कोरमध्येको एक खेलमा सफलता हासिल गर्‍यो। जुन जित गुजरातको छैटांै खेलमा दोस्रो जित हो। कोलकाताले यसअघि कठिन खेलमा सफलता हासिल गरिसकेको छ। तर कप्तान रैनाले प्रशिक्षण क्याम्पमा खेललाई सकारात्मक रूपमा लिदै सफलता हासिल गर्न टोलीको मनोबल बढाउने काम गरेका थिए। ‘टस जितेदेखि मैले खेलमा धेरै सकारात्मक तरंग पाएको थिएँ। मलाई थाहा थियो कोलकाताविरुद्ध अघिल्लो खेलमा राम्रो गर्ने प्रयास गरेका थियौं, रैनाले भने, ‘त्यो हारले म र मेरो टिमलाई चोट पुर्‍याएको थियो। मैले टिमलाई सम्बोधन गर्दै अहिलेको खेलबाट हामी पुनः लयमा फर्कनुपर्ने जोड दिएको थिएँ। यसबाट मैदानमा जाँदा टोलीको मनोबल उच्च थियो। त्यसको असर नतिजामा पनि देखियो। मैले ब्राड हाड्जी र मोहम्मद कैफबाट धेरै सहयोग पाएको छु। जसले सकारात्मक रूपमा अगाडि बढ्न सहयोग गर्‍यो। र त्यो हाम्रो उत्कृष्ट टिम समन्वय हो।'

१ सय ८८ रनको लक्ष्य सहजै पूरा गर्न सकिन्न। तर ओपनरले आक्रामक सुरुआत गरेपछि गुजरातले त्यो लक्ष्यलाई सहजै पार गरेको थियो। गुजरातका ओपनर एरोन फिन्च र ब्रेन्डन म्याककलमले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे। गुजरातले १३औं ओभरमा ५ विकेट गुमाएर १ सय २२ रन जोडेको बेला भने संघर्षपूर्ण स्थितिको सामना गर्नुपरेको थियो। त्यति बेला टोलीलाई जितका लागि अन्तिम सात ओभरमा ६४ रन आवश्यक थियो। तर कप्तान रैनाले प्रभावशाली ब्याटिङ गरेपछि गुजरात आफ्नो लक्ष्यमा बलियो हुँदै गएको थियो। रैनाले कोलकाताका बलर कुलदीप यादव र उमेश यादवको प्रत्येक ओभरमा चौका प्रहार गरेका थिए। दशकदेखि महेन्द्रसिंह धोनीसँग खेेल्दा ब्याटिङ गर्दाको दबाब महसुस भएको रैनाले बताए। ‘दबाबको समयमा ब्याटिङ गर्न पाउँदा मलाई खुसी लाग्छ। मलाई थाहा छ त्यो चुनौतीपूर्ण हुन्छ,' रैनाले भने, ‘मैले करिब १० वर्षदेखि धोनीसँगै ब्याटिङ गरेको छु। र अहिले पनि। मलाई थाहा छ कसरी खेल सक्नुपर्छ भनेर। कठिन अवस्थामा धेरै विचार गरेर खेल्नुपर्छ। रनरेटलाई हेरेर ब्याटिङ गर्न सक्नुपर्छ। चेन्नई सुपर किंग्स र भारतीय टोलीको कप्तान धोनीसँग मैले केही कुरा सिकेको छु। कप्तानका रूपमा टोलीलाई नेतृत्व कसरी गर्ने भनेर।'

गुजरातको जितमा रवीन्द्र जडेजाले अविजित १९ रन बनाए। कोलकाताका नाथन कल्टर नेइल र कुलदीपले २/२ विकेट लिए।

त्यसअघि घरेलु मैदानमा कोलकाताका लागि रोबिन उथप्पाले सर्वाधिक ७२ रन जोडे। ओपनर सुनील नारिनले ४२ र कप्तान गौतम गम्भीरले ३३ रन बनाएका थिए।

प्रकाशित: १० वैशाख २०७४ ०४:२१ आइतबार

अन्तिम बलमा पुने