खेल

मेसीको सर्वाधिक छिटो गोल

कप्तान लियोनल मेसीले खेलजीवनकै सर्वाधिक छिटो गोल गरेको दिन अर्जेन्टिनाले बिहीबार मैत्रीपूर्ण खेलमा अस्ट्रेलियालाई २–० ले हराएको छ।  

सात पटकका बालोन डी’अर विजेता मेसीले अस्ट्रेलियाली रक्षापंक्तिले गरेको गल्तीको फाइदा उठाउँदै एक मिनेट १९ सेकेन्डमै गोलको खाता खोलेका थिए। एक गोल गरेपछि थप आक्रामक बनेको अर्जेन्टिनाले अग्रता दोब्बर पार्ने अवसर पाए पनि सदुपयोग भने गर्न सकेन। उनको प्रहार गोलपोस्टनजिकैबाट बाहिरिएको थियो।

दोस्रो हाफको सुरुआतमै गोलकिपर म्याट रेयानले मेसी र एन्जेल डी मारियाको प्रहार विफल पार्दै अस्ट्रेलियाको संकट टारेका थिए। ६७औं मिनेटमा जर्मन पेजेलाले गरेको गोलमा विश्वविजेता अर्जेन्टिनाले अग्रता दोब्बर पारेको थियो।  

रेयानले अर्जेन्टिनाका स्ट्राइकर जुलियन अल्भारेजको प्रहार रोक्दै अस्ट्रेलियाको फराकिलो हारको संकट टारेका थिए।  

चीनको राष्ट्रिय टोलीको लगातारको खराब लय र घरेलु लिगको असफलताबाट निराश चिनियाँ समर्थकले भने विश्व फुटबलका हस्ती मेसीको उपस्थितिले प्रेरणा मिलेको बताएका छन्। दोसंो हाफको सुरुआतमै अर्जेन्टिनाको जर्सी लगाएका एक युवक मैदान प्रवेश गरेका थिए। मेसीलाई भेट्ने प्रयासमा रहेका ती समर्थकलाई सुरक्षाकर्मीले मैदानबाट बाहिर निकालेका थिए।

हालै मात्र निर्माण गरिएको वर्कर्स स्टेडियममा उपस्थित करिब ५० हजार दर्शकले चर्को गर्मीमा पनि यी दुई टोलीबीचको खेलको मज्जा लिएका थिए। त्यहाँ उपस्थित अधिकांश समर्थकले मेसीको नाम अंकित जर्सी लगाएका थिए भने अधिकांशले अर्जेन्टिनाको जर्सी फहराएका थिए।

‘आज मैदानमा दर्शकको समर्थन हेर्दा हामी घरेलु मैदानमै खेलिरहेको अनुभव भयो,’अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कोलानीने भने, ‘अस्ट्रेलिया बलियो प्रतिद्वन्द्वी हो र उनीहरूविरुद्ध खेल्न निकै कठिन भयो। यद्यपि समयमा गोल निस्कँदा नतिजा आफ्नो पक्षमा पार्न सफल भयौं।’

मेसीलाई भेट्कै लागि अर्जेन्टिनी टोली बसेको होटलअघिको सकडमा हजारांै समर्थक उपस्थित भएका थिए। मेसी गत साता पूर्वक्लब बाार्सिलोना फर्कने खबरमा पूर्णविराम लगाउँदै मेजर सकर लिग (एमएलएस) को टोली इन्टर मियामीमा अनुबन्धित भएका थिए। उनी दुई वर्षअघि फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा दुई वर्षका लागि अनुबन्धित भएका थिए।

कतार विश्वकप २०२२ मा अर्जेन्टिना र अस्ट्रेलियाले क्वार्टरफाइनलमा प्रतिस्पर्धा गरेका थिए। अर्जेन्टिनाले सो खेल २–१ ले जितेको थियो।  

अर्जेन्टिनाले सोमबार अर्को मैत्रीपूर्ण खेलमा जाकार्तामा इन्डोनेसियाको सामना गर्नेछ। 

प्रकाशित: २ असार २०८० ००:५६ शनिबार

मेसीको सर्वाधिक छिटो गोल