खेल

मेसीको अर्जेन्टिनाले सिंगापुरसँग खेल्ने

सिंगापुर- लियोनल मेसीको अर्जेन्टिनाले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। जुनमा अर्जेन्टिनासँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भैसकेको आयोजक सिंगापुरका फुटबल अधिकारीले बुधबार बताएका छन्। फिफा वरीयताको दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले जुन १३ मा सिंगापुरको राष्ट्रिय टोलीसँग सिंगापुरकै राष्ट्रिय रंगशालामा खेल्नेछ।

स्थापनाको १ सय २५औं वार्षिकोत्सवका अवसरमा मैत्रीपूर्ण खेन खेल्न लागिएको सिंगापुर फुटबल संघले जनाएको छ। सिंगापुर फुटबल संघका अनुसार मैत्रीपूर्ण खेलमा अर्जेन्टिनी टोलीबाट बार्सिलोनाका मेसी, म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्वेरो, पेरिस सेन्ट जर्मनका एन्जेल डी मारियालगायतका स्टारले खेल्नेछन्।

यसै गरी चार देशको भ्रमण गर्ने क्रममा विश्वको शीर्ष टोली ब्राजिलले मेलबर्नमा जुन १३ मा अस्टे्रलियासँग खेल्नेछ। सुपरक्लासिक मैत्रीपूर्ण खेलअन्तर्गत ब्राजिल र अर्जेन्टिनाले जुन ९ अस्टे्रलियन सहरमा खेल्नेछन्।

अर्जेन्टिनाविरुद्धको खेलले आफ्ना खेलाडीको मनोबल बढाउन सहयोग पुग्ने सिंगापुरका प्रशिक्षक भी सुन्दरामोर्थेले बताए। उनले भने, ‘मैले दुई पटक विश्व कप जितेको टोलीविरुद्ध आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दै छु। हामीलाई विश्वास छ सिंगापुरे दर्शक हाम्रो हौसला बढाउन आउनेछन्। विश्वका स्तरीय खेलाडीसँग खेल्दा हाम्रा खेलाडीको हौसला बढ्नेछ।'

पछिल्लो समय सिंगापुरले गतिलो नतिजा हासिल गर्न सकिरहेको छैन। पछिल्ला १२ खेलमा सिंगापुरले एउटा मात्र सफलता हासिल गर्न सकेको छ। सिंगापुर आठ खेलमा पराजित हुँदै आएको छ।

प्रकाशित: ७ वैशाख २०७४ ०४:२८ बिहीबार

मेसीको अर्जेन्टिनाले सिंगापुरसँग खेल्ने