खेल

प्रदेशस्तरीय मदरल्याण्ड फुटसल प्रतियोगिताको उपाधि पायोनियरलाई

प्रदेशस्तरीय मदरल्याण्ड फुटसल प्रतियोगिताको उपाधि स्याङजाको पायोनियर स्कुलले जितेको छ। पोखराको एसओएस स्कुललाई फाइनल खेलमा १–० गोलले पराजित गर्दै पायोनियरले उपाधि जितेको हो।

पायोनियरले नगद ३० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। एपविजेता एसओएसले नगद २० हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गर्यो। प्रतियोगितामा तनहुँको ज्ञानबगैंचा स्कुलले तेस्रो स्थान हात पार्दा पोखरा हेम्जाकै स्नोभ्यु बोर्डिङ स्कुलले चौथो स्थान हात पार्यो। ज्ञान बगैंचाले नगद १० र स्नोभ्युले ५ हजार रुपैयाँ साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए।

त्यसैगरी उत्कृष्ट खेलाडीको उपाधि पायोनियरका जनम ठकुरीले हात पारेका छन् भने सबैभन्दा बढी गोलकर्ताको उपाधि ज्ञान बगैंचाका प्रमेश पुलामीले प्राप्त गर्न सफल भए।  माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीको खाली समयको सदुपयोग गर्ने उद्देश्यले पोखराको मदरल्याण्ड माविले प्रदेशस्तरीय फुटसल प्रतियोगिताको आयोजना गरेको थियो। तीन दिनसम्म चलेको प्रतियोगितामा गण्डकी प्रदेशभरिबाट ६६ टिमले सहभागिता जनाएका थिए।

विजयी खेलाडी र टिमलाई पोखरा महानगरपालिका–७ का अध्यक्ष राममोहन आचार्य, विद्यालयका निर्देशक त्रिभुवन शर्मा, दसजोड दुईका इन्र्चाज नारायण आचार्य, सञ्चालक कृष्ण बराल लगायतले पुरस्कार वितरण गरेका थिए।

प्रकाशित: ३२ जेष्ठ २०८० ०८:०९ बिहीबार

फुटसल प्रतियोगिता