खेल

सबै एउटै पोस्टमा गोल हान्न आतुर: कोइराला

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालाले सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार थ्री स्टार क्लब र जावलाखेल युथ क्लबविरुद्धको खेल मिलेमतोमा खेलिएको संकेत गरेका छन्।

ए डिभिजन हैसियत कायम राख्न थ्री स्टारसामु जावलाखेललाई हराउनै पर्ने दबाब थियो। जहाँ कप्तान विक्रम लामले ८३औं मिनेटमा गरेको पेनाल्टी गोलमा थ्री स्टारले १–० को जितसहित शीर्ष डिभिजनको हैसियत जेगाएको थियो। थ्री स्टार जोगिँदा विभागीय क्लब एपिएफ भने राेलिगेसनमा पर्‍यो।

आइतबारै एपिएफले एन्फालाई पत्र लेख्दै २५औं चरणअन्तर्गत चर्च ब्वाइज र थ्री स्टार तथा फ्रेन्ड्स क्लब र संकटा क्लबको खेलमा म्याच फिक्सिङ भएको भन्दै अनुसन्धान गर्न माग गरेको छ।

‘हिजो दर्शकदीर्घाबाट हेर्दा मलाई के लाग्यो भने फुटबल खेल्न आधा मैदान भए पुग्ने रहेछ,’ नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ कार्यक्रममा शुभकामना दिने क्रममा कोइरालाले भने, ‘मलाई यो भन्न कसैसँग डर छैन। मलाई सबै खेलाडी एउटै पोस्टमा गोल हान्न आतुर भएको भान भयो। तपाईंहरूले त्यस्तो नखेल्नुहोस्। आफ्नो खुट्टामा बल भए पनि तपाईंभन्दा टोलीको अन्य खेलाडीलाई गोल हान्न सहज हुनेछ भने उहाँलाई पास दिँदा राम्रो हुन्छ।’

‘आज मलाई खेलकुदमन्त्रीलाई बिदाइ गर्न विमानस्थलमा बोलाइएको थियो,’ कोइरालाले थपे, ‘तर म गइनँ। एन्फा महासचिव किरण राईले नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइका लागि बोलाउनु भयो र म आएँ। तपाईहरूबाट देशले ठूलो आशा राखेको छ। तपाईंहरूले त्यसैअनुसार खेल्नुहुन्छ भन्ने आशा राखेका छौं।’ 

प्रकाशित: २९ जेष्ठ २०८० ०२:०६ सोमबार

सहिद स्मारक ए डिभिजन लिग राष्ट्रिय खेलकुद परिषद् (राखेप)