खेल

लुम्बिनी प्रदेश दोस्रो कुराँश प्रतियोगितामा च्याम्पियन

लुम्बिनी प्रदेश दोस्रो राष्ट्रिय कुराँश प्रतियोगितामा च्याम्पियन भएको छ। धरानमा आइतबार सम्पन्न तीनदिने प्रतियोगितामा लुम्बिनी सर्वाधिक १२ स्वर्ण, ६ रजत र ९ कांस्य पदकसहित च्याम्पियन भएको हो।

नेपाल कुराँश संघको आयोजनामा भएको प्रतियोगिता विभागीय टोली नेपाल आर्मी दोस्रो भयो । आर्मीले चार स्वर्ण र तीन रजत पदक जित्यो । सुदूरपश्चिम प्रदेश तीन स्वर्ण, एक रजत र चार कांस्य पदक जित्दै तेस्रो भयो । दुई दिने प्रतियोगितामा पुरुषतर्पm गण्डकीका सुजित पासवान र महिला लुम्बिनीकी प्रतीक्षा केसी उत्कृष्ट खेलाडी घोषित भए । प्रतीक्षाले महिला ५२ केजीमुनि तौलसमूहमा स्वर्ण जितेकी थिइन् । 

आर्मीकी उर्मिला गुरुङ तथा प्रदेश–१ की स्वस्तिका मण्डल र सुदूरपश्चिमकी देविका थापा कांस्य जिते । पुरुषतर्पm उत्कृष्ट सुजितले २५ केजीमुनि तौलसमूहमा रजत पदक जितेका थिए । यो तौलसमूहमा लुम्बिनीका सुमित महतोले स्वर्ण जित्दा बागमतीका दियान तामाङ र सुवास विकले कांस्य पदक जितेका थिए । जुनियर महिला ४४ केजीमुनि लुम्बिनीकी दीपा खत्रीले स्वर्ण जित्दा लुम्बिनीकै नेहा खत्रीलाई हराइन् ।गण्डकीकी कमला तामाङ र प्रतीक्षा इङनामले कांस्य पदक जितिन् । महिला सिनियर ५७ केजीमुनि लुम्बिनीकी अमिशा रानामगरले स्वर्ण जित्दा लुम्बिनीकै आसिका जिसीले रजत पदक जितेकी थिइन् ।

 गण्डकीकी लिला पुरी र मधेशकी अस्था राईले कांस्य पदक जितिन् । सिनियर पुरुष ७३ केजीमुनि तौलसमूहमा आर्मीका सुनिल जिसीले स्वर्ण जिते । गण्डकीका आशिष तामाङले रजत तथा सुदूरपश्चिमका हरिगोविन्द जोशी तथा प्रदेश–१ का युनिक मेहताले कांस्य पदक जिते । जुनियर महिला २५ केजीमुनि लुम्बिनीकी एन्जिला थापामगरले स्वर्ण जित्दा मधेशकी प्राप्ति रानामगरलाई हराइन् ।

प्रदेश–१ की श्रीप्रिया अग्रवाल र बागमतीकी शायरा श्रेष्ठले कांस्य पदक जिते । प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाले गरेका थिए । प्रतियोगिताको विजेतालाई कोशी प्रदेशका पूर्वमुख्य मन्त्री राजेन्द्र राई र विशेष अतिथी कोशी प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव हंषराज वाग्लेले पुरस्कृत गरेका थिए ।

समापन समारोहमा नेपाल कुराँश संघका अध्यक्ष ध्रुवराज न्यौपाने, अन्तर्राष्ट्रिय कुराँश महासंघका टेक्निकल डाइरेक्टर रवि कपुर, संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक जीवन राई र संघका अन्य पदाधिकारी तथा सदस्य उपस्थित थिए । जेठ २६ देखि २८ गतेसम्म सम्पन्न प्रतियोगितामा पुरूष तथा महिला दुवैतर्फ जुनियर र सिनियर गरी कुल चार विधामा प्रतिस्पर्धा भएको प्रतियोगिता संयोजक जीवन राईले जानकारी दिए ।

तीनदिने प्रतियोगितामा कुल एक सय ५१ खेलाडीले कुल ३१ स्वर्ण पदकका प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीसहित ६ प्रदेशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता अगाडि गत जेठ २६ गते रेफ्री सेमिनार पनि भएको थियो । अन्तर्राष्ट्रिय कुराँश महासंघका टेक्निकल डाइरेक्टर रवि कपुरले उक्त सेमिनार प्रदान गरेका थिए ।

प्रकाशित: २८ जेष्ठ २०८० १६:३२ आइतबार