खेल

आर्मी र डायमन्डलाई अनुकूल नतिजा

काठमाडौं- त्रिभुवन आर्मी क्लबले विभागीय प्रतिस्पर्धी एपिएफलाई हराउँदै तेस्रो आरबीबी एनभीए महिला पुरुष क्लब लिग भलिबलमा दबाबलाई कम गरेको छ। आर्मी क्लब लिग भलिबलको साबिक उपविजेता टोली हो। तर बुधबार गत वर्षको तेस्रो टोली नेपाल पुलिस क्लबसँग ३–२ को सेटमा पराजित भएपछि आर्मीमाथि दबाब बढेको थियो। एपिएफविरुद्ध हारको सामना गरेको भए आर्मी उपाधि दौडबाट टाढा हुने सम्भावना थियो। तर आर्मीले बिहीबार आफ्नो अनुकूल नतिजा निकाल्ने क्रममा एपिएफलाई २५–१३, २५–१७, २५–१३ ले हरायो। जितपछि आर्मी ४ खेलबाट १० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा पुगेको छ।

आर्मीका कप्तान हरिहजुर थापाले अप्ठ्यारो खुड्किलो पार गरेको बताए। 'हामी फेरि उपाधि दौडमा बलियो भएको छौं। आज एउटा सेट पनि हारेको भए हामी लिग दाबेदारीबाट बाहिरिने सम्भावना थियो। विभागीय टोली एपिएफविरुद्धको खेल भएकाले केही खतरा थियो। तर हामीले उत्कृष्ट खेल्यौं,' हरिहजुरले भने, 'पुलिसको तुलनामा एपिएफ अली कमजोर टोली हो। लगातार पावर खेल खेल्नुपरेकोले हामीलाई अप्ठ्यारो परेको थियो। तर सबै पोजिसनमा हामीले राम्रो गर्‍यौं।'

आर्मीले अब प्रतियोगितामा जावलाखेल, पश्चिमाञ्चल र हेल्प नेपालसँग खेल्न बाँकी छ।

यसै गरी साबिक विजेता हेल्प नेपाल स्पोटर््स क्लब ९ अंकसहित दोस्रो स्थानमा यथावत् छ। हेल्प नेपालले लगातार तीन खेलमा जित हासिल गर्ने क्रममा पश्चिमाञ्चललाई २५–२३, २५–१७, २५–१८ ले हरायो। नेपाल पुलिस क्लब ७ अंकसहित तेस्रो स्थानमा छ।

पुलिसले लिगको अघिल्ला खेलमा आर्मी र एपिएफविरुद्ध दुवै खेलमा पाँच सेट खेल्दै सफलता हासिल गरेको थियो। अपराजित यात्रालाई निरन्तरता दिने क्रममा पुलिसले ढोरपाटन क्लबलाई २५–१४, २५–१४, २५–११ ले हरायो।

दुवै विभागीय टोलीलाई हराएपछि भने पुलिसलाई प्रतियोगिताको दाबेदारको रूपमा हेरिएको छ। अब पुलिस र हेल्प नेपालबीचको खेलले उपाधि समीकरणलाई प्रभाव पार्ने आर्मीका कप्तान हरिहजुरले बताए। 

यसै गरी महिलातर्फको खेलमा साबिक विजेता न्यु डायमन्ड स्पोटर््स एकेडेमीले लगातार दोस्रो खेलमा सफलता हासिल गर्दै उपाधि दौडमा बलियो बनेको छ। डायमन्डले गत वर्ष एपिएफलाई हराउँदै लिगको उपाधि जितेको थियो। बिहीबार डायमन्डको लागि पुलिसविरुद्धको खेल दबाबपूर्ण थियो।

डायमन्ड पराजित भएको भए एपिएफलाई उपाधि जित्न थप सहज हुने अवस्था थियो। तर डायमन्डले पुलिससँग १ सेटमा मात्र हारको सामना गर्दै स्पष्ट तीन अंक जोड्न सफल भयो।

डायमन्डले नेपाल पुलिसलाई २५–१७, २५–१४,  २२–२५, २५–२१ ले हरायो। डायमन्ड र एपिएफको २ खेलबाट समान ६ अंक छ। तर एक सेट गुमाएका कारण डायमन्ड एपिएफभन्दा पछाडि छ। बिहीबारकै अर्को खेलमा पश्चिमाञ्चलले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१०, २५–६, २५–१३ ले पराजित गर्‍यो।

प्रकाशित: १ वैशाख २०७४ ०३:५६ शुक्रबार

आर्मी डायमन्डलाई अनुकूल नतिजा