खेल

दिप्सन फुड्सलाई नयाँ बजार कप

काठमाडौं- नेपालको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै दिप्सन फुड्स जापानले चौथो नयाँ बजार कप राष्ट्रिय खुला पुरुष भलिबलको उपाधि जितेको छ।

दिप्सन फुड्सले प्रतियोगिताका लागि चार भारतीय खेलाडीलाई अनुबन्धित गरेको थियो। त्यसमा नवजित सिंह र एजु सुप राव भारतीय राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन्। दिप्सन फुड्सका प्रशिक्षक कुमार गुरुङले नवजित, एजुसँगै रेलवे टिम इन्डियाका चार खेलाडीलाई टोलीमा भिœयाएका थिए।

दिप्सन फुड्स जापानमा व्यावसाय गरिरहेका पश्चिमाञ्चलका सन्तु खत्री र नवीन गुरुङले प्रायोजन गरेको टोली हो। दिप्सनबाट पश्चिमाञ्चलका सञ्जु शाह, रमेश केसी, राजन थापालगायतले खेलेका थिए।

समूह चरणमा आर्मीले दिप्सनलाई ३–१ को सेटमा हराएको थियो। तर फाइनलमा भने दिप्सनले आर्मीसँग ३–१ को सेटमा सफलता हासिल गर्दै बदला लिन सफल भएको छ। दिप्सनले खेल २५–१९, २५–१७, २४–२६, २५–१४ ले जित्दै फाइनलको उपाधि हात पार्‍यो।

आर्मीमा राष्ट्रिय टोलीका खेलाडी छन्। आर्मीका ८ खेलाडीले माल्दिभ्समा भएको तेस्रो एभिसी सेन्ट्रल जोन भलिबल खेलेका थिए। तर फाइनलमा आर्मीले निराश बन्नुपर्‍यो।

दिप्सन फुड्सका प्रशिक्षक राजकुमार गुरुङले लगातारको हारले पनि उपाधि जित्न दबाब भएको बताए। 'हामी यसअघि लगातार दुई वर्ष फाइनलमा पुलिससँग हारेका थियांै। फाइनलमा गएर असफल हुँदा टोली सधैं निराश बन्ने गरेको थियो। यस पटक जित्ने लक्ष्यसहित खेलेका थियौं, गुरुङले भने, 'नेपाली र भारतीय खेलाडीको समन्वय मिलेपछि फाइनलमा हामी हाबी भयौं। यसमा पश्चिमाञ्चल र भारतीय खेलाडीको मेहनत महत्वपूर्ण छ।'

उपाधिले पश्चिमाञ्चलका खेलाडीलाई आगामी प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्न सहयोग गर्ने गुरुङले बताए। उनले भने, 'आर्मीसँग खेल्नु भनेको नेपाली राष्ट्रिय टोलीसँग खेले सरह हो। विभागीय टोली नियमित प्रशिक्षणमा हुन्छन्। प्रतियोगिता खेलिरहेको हुन्छन्। क्षेत्रका खेलाडीले त्यति धेरै अवसर पाउँदैनन्। उपाधि जित्दा खेलाडीको आत्मविश्वास बढछ।'

शनिबार सञ्जु र भारतीय खेलाडी विनीत कुमारको प्रदर्शन प्रभावकारी देखिएको प्रशिक्षक गुरुङले बताए। विनीत प्रतियोगिताको उत्कृष्ट खेलाडीको रूपमा पुरस्कृत पनि भए।

आर्मीका प्रशिक्षक जगदिश भटृले खेलाडीलाई आवश्यक मात्रामा आराम नमिल्दा सोचेअनुरूपको प्रदर्शन हुन नसकेको बताए। विजेता दिप्सनले १ लाख ७५ हजार १ सय ११, उपविजेता आर्मीले ९० हजार १ सय ११ रुपैयाँ प्राप्त गरे।  नयाँ बजार सामाजिक क्लबले आयोजना गरेको प्रतियोगितामा पुलिसले एपिएफलाई २१–२५,२५–१४,२१–२५,२५–१५, १५–१२ ले हराउँदै तेस्रो भयो। पुलिसले ५१ हजार १ सय ११ र चौथो भएको एपिएफले २५ हजार १ सय ११ रुपैया पाए।

प्रतियोगितामा आर्मीका मानबहादुर श्रेष्ठ उत्कृष्ट स्पाइकर, आर्मीकै दिल सुनार उत्कृष्ट सर्भर, दिप्सनका सुप राव उत्कृष्ट ब्लकर र दिप्सनकै सुदीप थापा उत्कृष्ट रक्षकबाट पुरस्कृत भए। पुलिसका इम राना उत्कृष्ट सेटर, एपिएफका महेन्द्र श्रेष्ठ उत्कृष्ट क्विकर घोषित भए। विजयी खेलाडीलाई वनमन्त्री शंकर भण्डारी, नेपाल भलिबल संघका अध्यक्ष मनोरमणरञ्जन शर्मा, उपाध्यक्ष रञ्जन खड्कालगायतले पुरस्कृत गरे।

प्रकाशित: २७ चैत्र २०७३ ०४:३० आइतबार

दिप्सन फुड्सलाई बजार कप