खेल

सद्भाव र सुवासको संयुक्त अग्रता

एमेच्योर गल्फरद्वय सद्भाव आचार्य र सुवास तामाङले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा संयुक्त रूपमा अग्रता बनाएका छन्।

पार–७२ को गोकर्ण गल्फ क्लबमा बुधबार दोस्रो दिनको खेल सकिँदा दुवैले कुल ९ अन्डर १ सय ३५ को स्कोर कार्ड जोड्दै शीर्ष स्थानका लागि अग्रता बनाएका हुन्। डिफेन्डिङ च्याम्पियन शुक्रबहादुर राई र नीरज तामाङभन्दा उनीहरू तीन स्ट्रोकले अगाडि छन्। दोस्रो दिन सद्भावले सात अन्डर ६५ को यादगार प्रदर्शन गर्दै सुवाससँग बराबरी गरे। सुवास भने इभन पार ७२ मा रहे। यो प्रतियोगिता सूर्य नेपाल गल्फ टुर २०२२÷०२३ को आठौं तथा अन्तिम प्रतिस्पर्धा हो। नीरज र शुक्रले तेस्रो स्थानबाट दुई युवा एमेच्योर गल्फरलाई पछ्याइरहेका छन्।

यी दुई ६ अन्डर १ सय ३८ को स्कोर कार्डमा छन्। नीरजले आठ अन्डर ६४ को कार्ड बटुल्दै बुधबारकै उत्कृष्ट प्रदर्शन गरे पनि सुवास र सद्भावलाई भेट्टाउन सकेनन्। नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्रले भने पाँच अन्डर ६७ को प्रदर्शन गरे। भुवन नगरकोटी र तोरणविक्रम शाही पाँचौं स्थानमा छन्। यी दुईले कुल चार अन्डर १ सय ४० को स्कोर कार्ड बटुले। दोस्रो दिन भुवनले चार अन्डर ६८ मा खेल्दा तोरण भने इभन पार ७२ मा रहे। जयराम श्रेष्ठ र शिवराम पौडेल समान तीन अन्डर १ सय ४१ को कार्डसहित सातौं स्थानमा छन्।

दुवै प्रो गल्फरले इभन पारमा रहँदै दोस्रो दिनको खेल सकाए। सूर्यप्रसाद शर्मा नवौंमा र दिनेश प्रजापति दशौं स्थानमा छन्। समग्रमा सूर्यले दुई अन्डर १ सय ४२ र दिनेशले एक ओभर १ सय ४३ को कार्ड बटुलेका छन्। दोस्रो दिनको खेल सकिँदा २३ प्रोफेसनल गल्फर कटबाट बच्दै दोस्रो चरणमा प्रवेश गरेका छन्। पूर्वनम्बर एक प्रो गल्फ रवि खड्का, राजेन्द्र थापामगर, रामकृष्ण श्रेष्ठ, कमल तामाङ, भुवनकुमार रोका, धनबहादुर थापा, दलबहादुर लामा, रामे मगर, पूर्णप्रसाद शर्मा र भूबहादुर गुरुङ प्रोतर्पm कटबाट जोगिएका छन्।

टासी घले, दीपक मगर, टंकबहादुर कार्की, दीपक न्यौपाने र बलभद्र राईले कटबाट पार गरेका छन्। एमेच्योरतर्फ टासी छिरिङ इभन पार १ सय ४४ को स्कोर कार्डसहित तेस्रो स्थानमा छन्। अन्य एमेच्योर वाङ्चेन धोन्डुप, भरत थापामगर र प्रज्वल गुरुङ कटबाट बच्दै दोस्रो चरणमा स्थान बनाउन सफल भए। ४१ प्रोफेसनल र ९ एमेच्योर गरी कुल ५० गल्फरले प्रतिस्पर्धा गरेको सूर्य नेपाल प्रिमियर गल्फ सूर्य नेपाल गल्फ टुर २०२२-०२३ को अन्तिम तथा आठौं प्रतियोगिता हो। प्रतियोगितामा शीर्ष तीन स्थानमा रहने गल्फरले क्रमशः दुई लाख ७० हजार, एक लाख ७० हजार र एक लाख २० हजार रूपैयाँ पाउनेछन्। 

प्रकाशित: २५ जेष्ठ २०८० ०२:१५ बिहीबार

सद्भाव र सुवासको संयुक्त अग्रता