खेल

रामको अलराउन्ड प्रदर्शन

काठमाडौं- राम भट्टराईको अलराउन्ड प्रदर्शनप्रेरित के एन्ड के कलेज शुक्रबार राजश्री कलेजलाई ६ विकेटले हराउँदै युनिभर्सिटी कप क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ। के एन्ड केको जितमा रामले ४४ बलमा ४२ रन बनाउँनुका साथै ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए। कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको राजश्रीले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय २६ रन बनाएको थियो। १ सय २७ रनको लक्ष्य के एन्ड केले १०.३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो।

राजश्रीका सुदीपमणि नेपालीले २९ र सुदर्शन जोशीले २६ रन बनाए भने के एन्ड केका लागि राम र कुशल बस्नेतले समान ३/३ विकेट लिए।

१ सय २७ रनको लक्ष्य पछ्याएको के एन्ड केका लागि म्यान अफ दी म्याच रामले ४२ रन बनाउँदा एलड्रिन शिवाले अविजित २८ रन बनाए। के एन्ड केले अब सेमिफाइनलका लागि गोल्डेन गेट कलेजसँग प्रतिस्पर्धा गर्नेछ। गोल्डेन गेटले शुक्रबारै काठमाडौं युनिभर्सिटीलाई  १० विकेटले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो।

गोल्डेन गेटका सुमन पान्डेले ४ तथा प्रशन्न शाक्य र इन्द्रकमल मानन्धरले समान २/२ विकेट लिएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको काठमाडौं युनिभर्सिटीले १६ ओभरमा सबै  विकेट गुमाएर ४४ रन बनाएको थियो। काठमाडौंका लागि संजय हमाल र अनोज बस्नेतले सबैभन्दा धेरै ९/९ रन बनाए।

४५ रनको लक्ष्य गोल्डेन गेटले २.५ ओभरमा विना क्षति पूरा गरेको थियो। गोल्डेन गेटका इन्द्रकमलले अविजित २३ र विजय गौतमले अविजित १७ रन बनाए।

प्रकाशित: २६ चैत्र २०७३ ०३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App