खेल

सुरक्षाको कारण देखाउँदै प्रशासनले रोक्यो खेलकुद

अर्घाखाँची – सुरक्षाको दिन नसक्ने भन्दै प्रशासनले बिहीबारदेखि हुने भनिएको सन्धिखर्क नगरपालिका स्तरीय रनिङ्गशिल्ड र २८ गते देखि हुने राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिता रोकेको छ  । 

‘एक्कासी खेल रोक्न लगाउनुका पछाडी कुनै रहस्य लुकेको हुनसक्छ’– अध्यक्ष भुसाल 

प्रशासनले चुनावको मिति नजिकिँदै गएकाले सुरक्षाको प्रबन्ध मिलाउन नसकिने बताउँदै खेलकुद विकास समितिलाई लिखित रुपमै खेलहरू रोक्न लगाएको हो । नगरपालिका स्तरीय रनिङ्गशिल्डको अर्घाखाँची क्षेत्र नम्बर २ का सांसद दुमन सिंह थापा र राष्ट्रपति रनिङ्ग शिल्डको एमाले नेता तथा पूर्व प्राधानमन्त्री माधव नेपालले उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो ।

जिल्ला खेलकुद विकास समितिले सन्धिखर्कमा पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पुरा गरेको अवस्थामा प्रशासनले एक्कासी प्रतियोगिताहरू स्थगित गर्न लगाउनु निकै दुखदायी भएको बताएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धिप्रसाद भुसालले समितिसँग कुनै सल्लाह र परामर्श नै नगरी एक्कासी खेलकुद रोक्न लगाउनुका पछाडी कुनै रहस्य लुकेको हुन सक्ने बताए । ‘हामीलाई कुनै जानकारी नभइ बाहिरैबाट खेलकुद स्थगित भएको हल्ला सुनियो’ उनले भने, ‘प्रशासनमा बुझ्न जाँदा रोक्न भनि पत्र थमाइयो ।’ उनले  खेल रोक्दा विद्यार्थी खेल खेल्नबाट वञ्चित भएको बताए । उनले सुरक्षा दिन नसक्ने भनेर खेल रोक्नु पर्ने कुनै कारण नभएको बताए ।

 जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत क्षेत्रीले चुनावको स्थितिलाई मध्यनजर गरेर स्थगित गरिएको बताए । उनले खेलकुद विकास समितिले कहिलेदेखि प्रतियोगिता गर्ने भनेर कुनै सरसल्लाह नगरी आफ्नै ढंगले तयारी गरेका कारण समस्या आएको बताए । ‘विद्यालयबाट खेलकुदको तयारी नभएको जानकारी पायौं’ उनले भने, ‘सबै कुरालाई मध्यनजर गर्दा खेलकुद सञ्चालन गर्न उपयुक्त ठानेनौं ।’

प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले चुनावकै कारणले खेलकुद रोकेको बताए । ‘म्यादी प्रहरीको तालिम शुक्रबारदेखि हुँदै छ’ उनले भने, ‘यो बेलामा प्रहरी तालिममा केन्द्रीत हुने हुँदा सुरक्षा प्रदान गर्न गाह्रो देखियो ।’ उनले सुरक्षा दिन नसक्ने स्थितिमा कार्यक्रम गर्दा थप समस्या आउन सक्ने अवस्थालाई आंकलन गरेर खेल स्थगित गर्न लगाएको बताए । 
 

प्रकाशित: २४ चैत्र २०७३ ०६:४२ बिहीबार

सुरक्षाको कारण देखाउँदै प्रशासनले रोक्यो खेलकुद