खेल

गण्डकी प्रदेशः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षकलाई ‘गण्डकी खेलकुद पदक’

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रमा विशेष योगदान पुर्‍याउने निकाय एवं व्यक्तिलाई गण्डकी खेलकुद पदकबाट सम्मानित गर्ने बताएको छ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै खेलाडी तथा प्रशिक्षक एवं खेलकुदमा योगदान पुराउनेलाई गण्डकी खेलकुद पदकबाट सम्मानित गरिने उल्लेख गरेका छन्। विगतको नीति तथा कार्यक्रममा झैँ प्रदेश सरकारले सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण प्रक्रिया अगाडि बढाउने समावेश गरिएको छ। अन्तर्राष्ट्रियस्तरको कभर्ड हल निर्माणको लागि सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाइने छ।

एक स्थानीय तह एक खेल मैदान निर्माण कार्यलाई स्थानीय तहसँगको सहकार्यमा निरन्तरता दिइने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ। मुस्ताङ जिल्लामा उच्च उचाई-हाईअल्टिच्युड खेल तालिम केन्द्र स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने नीति लिइने उद्घोष गरिएको छ।

खेलाडी उत्पादन, छनौट र प्रशिक्षण सम्बन्धी एकीकृत योजनाको लागि ‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ। सबैका लागि खेलकुद भन्ने नारालाई सार्थकता दिन र गाउँ गाउँमा रहेको नवप्रतिभावान खेलाडीलाई अवसर सिर्जन गर्न स्थानीय तहसँग समन्वय गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने छ।

गण्डकी प्रदेश खेलकुद परिषद्ले गत वर्ष ट्यालेन्ट हन्ट गर्दै प्रदेशका ११ वटै जिल्लाबाट एथलेटिक्सका खेलाडी छनोट गरी आवासीय सुविधासहित बन्द प्रशिक्षणमा राखेको थियो। अहिले पनि प्रदेश खेलकुद परिषद्ले ट्यालेन्ट हन्ट मार्फत भलिबल खेलको खेलाडी छनोट गर्ने उद्देश्य राखेको छ।

प्रदेश सरकारले पाँच वर्ष अघि नै एक स्थानीय तह एक खेल मैदानको नीतिलाई अहिलेसम्म कार्यान्वयनमा ल्याउन सकेको छैन। अन्तर्राष्ट्रियस्तरको प्रादेशिक क्रिकेट रंगशाला निर्माण गर्ने योजना पनि योजनामै सीमित भएको छ। पोखरा-३३ बागमारास्थित पशुपति घाटमा जग्गा भोगाधिकार पाए पनि आवश्यक बजेट समेत छुट्टाएरपनि प्रदेश सरकारले काम गर्न सकेन्। पाँच वर्षअघिकै योजनाहरूलाई दोहोर्‍याउँदै आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिए पनि कार्यान्वयनमा नआउँदा अझै पनि शंकाको दृष्टिकोणले खेलकुदकर्मीले हेर्ने गरेका छन्।

प्रकाशित: २२ जेष्ठ २०८० ०९:०६ सोमबार

गण्डकी प्रदेश गण्डकी खेलकुद पदक