खेल

वेंगरलाई थप दबाब

लन्डन(एएफपी)– चौथो स्थानको म्यानचेस्टर सिटीसँग आइतबार २–२ को बराबरीमा रोकिएपछि आर्सनलका प्रशिक्षक आर्सेन वेंगर थप दबाबमा परेका छन्।

घरेलु इमिरेट्स रंगशालामा खेलअघि मैदानबाहिर रहेका समर्थकले वेंगरको राजीनामा माग गर्दै नाराबाजी गरेपछि उनी आफ्नो टोलीले खेल नियन्त्रणमा लिँदै विजय हासिल गरेको हेर्न चाहन्थे।

तर पाँचौं मिनेटमै सिटीका लेरोए सेनले गोल गर्दै घरेलु टोलीलाई दबाबमा राखे । उनले केभिन डी ब्रुयेनेको पासलाई पोस्टको दिशा दिएका थिए।

मध्यान्तर हुन पाँच मिनेट बाँकी रहँदा स्कोड्रान मुस्ताफीको पासमा बराबरी गोल गर्दै थियो वाल्कटले घरेलु टोलीलाई खेलमा फर्र्काए । तर त्यसको २ मिनेटपछि डेभिड सिल्भाको पासमा सर्जियो अग्वेरोले गोल गर्दै सिटीलाई पहिलो हाफमै २–१ को अग्रता दिलाए । जहाँ जर्मन स्टार मेसुट ओजिलको पासमा मुस्ताफीले हेड गोल गर्दै आर्सनललाई दोस्रो पटक बराबरीमा ल्याएका थिए ।

बराबरीपछि सिटी ५८ अंकका साथ चौथो स्थानमा छ, जुन शीर्ष टोली चेल्सीभन्दा ११ अंक कम हो । यद्यपि आर्सनलले १ खेल कम खेलेको छ । सिटी लिग खेलमा बराबरीमा रोकिएको यो तेस्रो खेल हो । सिटीले अर्को खेलमा बुधबार चेल्सीको समाना गर्दै छ ।

यता हारपछि ५१ अंकका साथ छैटौं स्थानमा यथावत् रहेको आर्सनलको भने शीर्ष ४ मा रहँदै अर्को वर्षको च्याम्पियन्स लिग खेल्ने सम्भावना थप पातलिएको छ ।

‘हामी उनीहरूको सुरुआतबाट निराश बन्यौं,’ आर्सनलका प्रशिक्षक वेंगरले भने, ‘सुरुबाटै दबाबमा परेकाले पूर्ण क्षमताअनुसार प्रदर्शन गर्न सकेनौं । तर हामी मानसिक रूपमा बलियो बन्यांै र हार मानेनांै । गणितीय रूपमा हेर्दा बराबरी दुवै टोलीका लागि राम्रो नतिजा होइन तर आजको एक अंक हाम्रा लागि सहयोगी बन्न सक्छ । ’

‘हामीले पहिलो हाफमा राम्रो खेलेनौं । गोल गरेपछि हामीले खेल्न बिर्सिएको जस्तो भयो, खेलाडीमा जितको चाहना नै भएन,’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘दोस्रो हाफमा हामीले केही राम्रो खेल्यौं। पाएका सहज अवसरलाई गोलमा परिणत गर्न नसकेका कारण हामी दबाबमा परेका हौं ।’

इङ्लिस प्रिमियर लिगमा रेलिगेसनबाट बाँच्न संघर्षरत दुई टोलीबीच आइतबार सम्पन्न खेलमा स्वान्सी सिटीसँग गोलरहित बराबरीमा रोकिएपछि मिडल्सब्रो थप संटकमा परेको छ ।

लगातार १२ लिग खेलमा जितविहीन बनेको मिडल्सब्रो २३ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ। जुन रेलिगेसन क्षेत्रमा सबभन्दा माथि रहेको टोली हल सिटीभन्दा ४ अंक कम हो । यद्यपि मिडल्सब्रोले एक खेल कम खेलेको छ ।

यता मिडल्सब्रोसँग बराबरीमा रोकिएपछि स्वान्सीले रेलिगेसन क्षेत्रसँग दूरी बढाउने मौका खेर फालेको छ।  लगातार ३ खेलमा जितविहीन बनेपछि स्वान्सी सिटी पनि रेलिगेसनको खतरामा परेको हो । स्वान्सी २८ अंकका साथ १७औं स्थानमा छ । टोली रेलिगेसन क्षेत्रभन्दा एक अंकले मात्र माथि छ।

प्रकाशित: २२ चैत्र २०७३ ०१:५२ मंगलबार

वेंगरलाई दबाब