खेल

भलिबल लिगलाई वाणिज्य बैंकको साथ

काठमाडौं– तेस्रो राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबललाई राष्ट्रिय वाणिज्य बंैकले मुख्य प्रायोजन गर्ने भएको छ।

क्लब लिग भलिबल चैत २९ देखि वैशाख ४ सम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा हुँदै छ।

वाणिज्य बंैकले दुई वर्षसम्म लिग भलिबललाई मुख्य प्रायोजन गर्ने भएको हो । प्रायोजनबापत बैंकले नेपाल भलिबल संघलाई वार्षिक १० लाख रुपैयाँ प्रदान गर्नेछ । जुन रकम भलिबलले पाएको अहिलेसम्मकै सर्वाधिक रकमको प्रायोजन हो ।

यसअघि पेन्टागन कलेजले लिग भलिबलका लागि ३ लाख ५० हजारको प्रायोजन गरेको थियो ।

आइतबार नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, राष्ट्रिय वाणिज्य बंैकका अध्यक्ष डा. रवीन्द्रप्रसाद पाण्डे, सिइओ किरणकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतापश्चात् प्रतियोगिता एनभिएआरबीबी राष्ट्रिय लिग भलिबल प्रतियोगिताको नाममा आयोजना गरिने भएको छ ।

वाणिज्य बंैकका अध्यक्ष पाण्डेले भलिबल संघसँगको सम्झौता दुई वर्षमा मात्र नसकिने बताए । उनले भने, ‘खेलको विकास गर्नुपर्नेमा हामी कसैको दुईमत छैन । बंैक नाफा कमाउनका लागि हो । हामीले त्यो गर्नुपर्छ । समाजमा गतिशील बन्न हामीले समयअनुसार चल्नुपर्छ । हामीसँगको सहकार्यले भलिबलले अझ गतिशील भएर काम गर्नेछ ।’

बैंकका सिइओ श्रेष्ठले भलिबललाई प्रायोजन गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘भलिबल लोकप्रिय खेल हो । धेरैले खेल्न रुचाउँछन् । तर भलिबलले किन विकास गर्न सकिरहेको छैन भन्ने हामीलाई लागेको थियो । प्रायोजनलगायतका कुरा आएका थिए । अहिले भलिबलले राम्रो उपलब्धि हासिल गरिरहेको खबर पनि हामीले थाहा पायौं । अब भलिबल थप लोकप्रिय र व्यावसायिक बन्ने विश्वास छ।’

एनभिए राष्ट्रिय क्लब च्याम्पियनसिप प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा संघले लिग भलिबलका लागि टोली छनोट गरेको हो । भदौ २८ देखि असोज ३ गतेसम्म भएको प्रतियोगिताको उत्कृष्ट ८ पुरुष र ६ महिला टोली लिग भलिबलका लागि छानिएका थिए ।

लिग भलिबलको पुरुषमा हेल्प नेपाल स्पोटर््स क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ, पश्चिमाञ्चल भलिबल संघ, नेपाल पुलिस, ढोरपाटन स्पोटर््स क्लब, जावलाखेल भलिबल तालिम केन्द्र र मणिमुकुन्द भलिबल क्लब(बुटवल) ले खेल्नेछन् ।

यसै गरी महिलातर्फ न्यु डायमन्ड स्पोर्ट्स क्लब, पुलिस, एपिएफ, वेस्टर्न टप्स, त्रिभुवन आर्मी क्लब र जावलाखेल स्पोर्ट्सले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल भलिबल संघका अध्यक्ष शर्माले वाणिज्य बैंकसँग सम्झौता भएको दिन भलिबलका लागि ऐतिहासिक भएको बताए । उनले भने, ‘बैंकसँगको सम्झौताले हामीलाई नयाँ जिम्मेवारी थपिएको छ । यसमा सहयोग गर्ने सबैलाई धन्यवाद । बैंकको उन्नतिमा पनि हामी सक्दो सहयोग गर्नेछौं ।’

भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले प्रतियोगितालाई विगतको भन्दा व्यवस्थित गरेर सञ्चालन गर्ने बताए । चन्दले भने, ‘दक्षिण एसियामा नेपालको व्यवस्थापन र भौतिक पूर्वाधार उत्कृष्टमा गनिन्छ । कभर्ड हल मात्र हामीले प्रतियोगिता गर्न सक्ने कोर्ट । जे उपलब्ध छ त्यसमा उत्कृष्ट भलिबल प्रतियोगिता गर्नेछौं ।’

लिग भलिबल खेल्ने एउटा टोलीले ४ विदेशी खेलाडी राख्न पाउने प्रावधान बनाएको छ । लिगको विजेता पुरुष, महिला टोलीले समान २ लाख, उपविजेताले १ लाख , तेस्रोले ५० हजार र चौथोले २५ हजार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले जनही १५ हजार र विधागत रूपमा उत्कृष्ट हुनेले समान ५ हजार पाउने संघले बताएको छ ।

प्रकाशित: २१ चैत्र २०७३ ०३:०४ सोमबार

भलिबल लिगलाई वाणिज्य बैंकको साथ