खेल

मच्छिन्द्रको ह्याट्रिक लक्ष्यमा धक्का

नेपाल पुलिस क्लबसँग २–१ ले स्तब्ध भएसँगै सहिद स्मारक ‘ए’ डिभिजनको साबिक विजेता मच्छिन्द्र फुटबल क्लबको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा गम्भीर धक्का लागेको छ।  

शनिबार शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडले जावलाखेल युथ क्लबमाथि ३–० को सहज जितसहित शीर्ष स्थानमा ५ अंकको अग्रता लिएको थियो। मच्छिन्द्रासामु आइतबार च्यासल फुटबल मैदानमा नेपाल पुलिस क्लबमाथि जितसहित सो दूरी २ अंकमा झार्ने अवसर थियो।

२३औं मिनेटमा ओलावाले आफिजको गोलमा मच्छिन्द्रले अग्रता लिएको थियो। तर दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा मच्छिन्द्रले नतिजा सुम्पिएको हो। ७३औं मिनेटमा मोसिसको फ्रिकिक गोलमा पुलिस खेलमा फर्किएको थियो। खेल सकिन ४ मिनेट बाँकी रहँदा मोसिसले गरेको गोल पुलिसको जितमा पर्याप्त बन्यो।

नेपाल पुलिस क्लबसँग २–१ ले स्तब्ध भएसँगै सहिद स्मारक ‘ए’ डिभिजनको साबिक विजेता मच्छिन्द्र फुटबल क्लबको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा गम्भीर धक्का लागेको छ।

मच्छिन्द्र २४ खेलमा ३९ अंकसहित दोस्रो स्थानमा यथावत् छ। जुन शीर्ष स्थानको चर्च ब्वाइजको भन्दा ५ अंक कम हो। लिगमा अब मात्र दुई चरणको खेल बाँकी छ। डेब्यु सिजनमै लिग उपाधि जित्ने मनाङ मस्र्याङ्दी क्लबको कीर्तिमानसँग बराबरी गर्ने लक्ष्यमा रहेको चर्च ब्वाइले अन्तिम दुई खेलमा रेलिगेसनबाट जोेगिन संघर्षरत थ्री स्टार क्लब र एफसी खुमलटारविरुद्ध खेल्नेछ।

यता मच्छिन्द्रले भने अन्तिम दुई खेलमा हिमालयन शेर्पा र मनाङविरुद्ध खेल्नेछ। मच्छिन्द्रमाथि जित निकालेको नेपाल पुलिस क्लब भने २४ खेलमा ३७ अंकसहित चौथो स्थानमा छ। तेस्रो स्थानको जावलाखेलको ३७ अंक रहेको छ।

मच्छिन्द्रका मुख्य प्रशिक्षक किशोरकुमार केसीले पुलिसविरुद्धको हारले टोलीको उपाधि रक्षाको यात्रामा धक्का लागेको बताए।

‘आज हामीलाई जसरी पनि जित आवश्यक थियो,’ केसीले भने, ‘टोलीले अग्रता पनि लिएको थियो तर हामी त्यसलाई जोगाउन असफल भयौं। रेफ्रीले गलत निर्णय दिए। जसले हामीलाई जितबाट अलग गरायो। हामी ५ अंकले पछि परेका छौं। तर हामीसँग दुई खेल खेल्न बाँकी छ। हामी अन्तिम दुई खेलमा सुखद नतिजासहित उपाधि रक्षाको सम्भावना कायम राख्न चाहन्छाैं। तर नतिजा अब हाम्रो हातमा मात्र छैन। हामीले चर्च ब्वाइजको नतिजा कुर्नुपर्छ।’

पुलिसका प्रशिक्षक चेतन घिमिरेले भने मच्छिन्द्रमाथिको जितले राम्रो स्थानमा बस्दै सिजनको अन्त्य गर्ने लक्ष्यलाई बल पुगेको बताए।

‘हामीले पहिलो चरणमा राम्रो प्रदर्शन गर्न सकेना थिएनौं। विदेशी खेलाडी र टोलीमा रहेका युवा खेलाडीबीच अहिले तालमेल मिलेको छ र निरन्तर सुखद नतिजा आएको छ। हामीले केही खेलअघि मात्र विदेशी खेलाडी ल्याउन सकेको भए हामी पनि उपाधि दाबेदार हुने थियौं। तर पनि खराब सुरुआतका बावजुद लिगमा निरन्तरको राम्रो प्रदर्शन र नतिजाबाट सन्तुष्ट छु।’

आइतबार एन्फा मुख्यालय सातदोबाटोमा सम्पन्न खेलमा खुमलटारमाथि ३–० को जितसहित संकटा क्लबले भने रेलिगेसनबाट बाँच्ने सम्भावना बलियो पारेको छ।

संकटा २४ खेलमा ३० अंकसहित ११औं स्थानमा उक्लिएको छ। समान खेलमा १२औं स्थानको थ्री स्टार क्लबको २८ अंक रहेको छ। १३औं स्थानको फ्रेन्ड्स क्लबको २६ र १४औं स्थानको खुमलटारको २४ अंक रहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पाले भने १–१ को बराबरी खेल्दै अंक बाँडे। सातौं स्थानको हिमालयन शेर्पाको ३१ र १०औं स्थानको एनआरटीको ३० अंक रहेको छ।

संकटा २४ खेलमा ३० अंकसहित ११औं स्थानमा उक्लिएको छ। समान खेलमा १२औं स्थानको थ्री स्टार क्लबको २८ अंक रहेको छ।

यता क्लब अध्यक्ष विजय घलेले संयममता गुमाउँदा विवादास्पद बनेको खेलमा मनाङ भने फ्रेन्ड्स क्लबसँग १–१ को बराबरीमा रोकिएको छ। मनाङ ३२ अंकसहित छैटौं स्थानमा छ। ५२औं मिनेटमा निराजन धामीको गोलमा मनाङले अग्रता लिएको थियो। खेल सकिन ६ मिनेट बाँकी रहँदा मनाङका चेतनकुमार थारूले उत्तम राईलाई पेनाल्टी बक्समा लडाएपछि फ्रेन्ड्सले पेनाल्टीको अवसर पाएको थियो। जुन अवसर अमित तामाङले खेर जान दिएनन्।

फ्रेन्ड्सलाई पेनाल्टी दिएदेखि नै विवादमा उत्रिएका मनाङका अध्यक्ष घलेले १० मिनेटको इन्जुरी समय थपिएपछि थप आक्रोशित बनेका थिए। उनले दर्शकदीर्घामा रहेका मनाङका पदाधिकारीलाई मैदान बोलाएका थिए।

खेलपछि उनले रेफ्री कविन व्यञ्जनकारमाथि हातपातको प्रयास गरेका थिए। मनाङका एक पदाधिकारीले भने दर्शकदीर्घाबाट कुर्सी नै फ्रेन्ड्सको प्लेयरबक्समाथि फ्याकेका थिए।  

प्रकाशित: २२ जेष्ठ २०८० ०१:३९ सोमबार

सहिद स्मारक ‘ए’ डिभिजन मच्छिन्द्रको ह्याट्रिक लक्ष्यमा धक्का