खेल

एभर्टनविरुद्ध लिभरपुलको सहज जित

लिभरपुल(एएफपी)– फिलिपे क्वान्टिन्होप्रेरित लिभरपुलले शनिबार सहरी प्रतिद्वन्द्वी एभर्टनमाथि ३–१ को सहज जित निकाल्दै इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ।

सडियो मानेले आठौं मिनेटमा घरेलु टोली लिभरपुललाई अग्रता दिएका थिए। लिगमा उनको यो १३औं गोल हो। सिजनको पहिलो गोल गर्ने क्रममा एभर्टनका म्याथ्यु पेनिङ्टनले २८औं मिनेटमा बराबरी गोल फर्काए । त्यसको तीन मिनेट बित्न नपाउँदै क्वान्टिन्होले पुनः लिभरपुललाई अग्रता दिए । ६०औं मिनेटमा डिभोक ओरिगीले अर्को गोल थप्दै लिभरपुललाई महŒवपूर्ण तीन अंक दिलाए । एभर्टनले १९९९ यता लिभरपुललाई एनफिल्डमा पराजित गर्न सकेको छैन ।

यससँगै ३० खेलबाट ५९ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा उक्लिएको छ । यससँगै लिभरपुलले शीर्ष चारमा रहेर अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको छ ।

‘खेलाडीले सक्दो प्रयास गरे,’ लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने, ‘हामी जितका हकदार थियौं । हामीले राम्रो फुटबल खेल्यौं र विजय हासिल ग¥यौं ।’

तर सडियो मानेको चोटले लिभरपुललाई जित महँगो साबित बन्यो । उनले बुधबार घरेलु मैदानमै हुने मिडल्सब्रोविरुद्धको खेल गुमाउने सम्भावना छ । एभर्टनका रक्षक लिङ्टन बेन्ससँग जुध्दा मानेको बायाँ खुट्टामा चोट लागेको थियो ।

‘मानेलाई के भएको हो अहिले केही भन्न सकिँदैन । तर, उनको अवस्था हेर्दा बुधबार उनी खेल्न नसक्ने देखिन्छ,’ क्लोपले भने, ‘आशा गरौं उनको चोट गम्भीर हुनेछैन ।’

हारका बावजुद एभर्टनका प्रशिक्षक रोनाल्ड कोम्यानले टोलीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए । ‘टोलीको प्रदर्शनमा मलाई गर्व छ । हामीले हार्‍यौं, तर नतिजाले हाम्रो प्रदर्शनलाई दर्साउँदैन,’ कोम्यानले भने, ‘दोस्रो र तेस्रो गोलमा हामीले गल्ती गर्‍यौं।’

 

प्रकाशित: २० चैत्र २०७३ ०३:०६ आइतबार

एभर्टनविरुद्ध लिभरपुलको सहज जित