खेल

भिलारियलको लक्ष्यमा धक्का

मड्रिड(एपी)– इबरसँग ३–२ ले पराजित भएसँगै भिलारियलको स्पेनिस ला लिगाको शीर्ष चारमा रहँदै अर्को वर्ष च्याम्पियन्स लिग खेल्ने लक्ष्यमा धक्का लागेको छ।

शनिबार घरेलु मैदानमा सम्पन्न खेलको १८औं मिनेटमा मारियो गास्परको पासमा रोबर्टाे सोरियानोले गोल गरेपछि भिलारियलले अग्रता लिएको थियो ।

मध्यान्तरपछिको तेस्रो मिनेटमा नै इबर खेलमा फर्कियो । अल्भारो गान्जाल्वेजले केकीमाथि खराब फाउल गरेपछि प्राप्त पेनाल्टी अवसरलाई गोलमा परिणत गर्दै पेड्रो लियोनले इबरलाई खेलमा फर्काएका थिए ।

५४औं मिनेटमा किकेले गोल गरेपछि इबरले अग्रता लिएको थियो । ७७आंै मिनेटमा ताकासी इनुइले गोल गर्दै इबरको अग्रता बढाएका थिए ।

खेल सकिन १ मिनेट बाँकी रहँदा भिलारियलका सोरियानोले गोल गरे पनि आफ्नो टोलीलाई हारबाट जागाउन सकेनन् ।

यस जितपछि इबर ४४ अंकका साथ सातौं स्थानमा उक्लिएको छ भने हारपछि भिलारियल ४८ अंकका साथ पाँचौं स्थानमा यथावत् छ ।

यसअघि शुक्रबार सम्पन्न खेलमा स्पानियोलले उत्कृष्ट पुनरागमन गर्दै रियल बेटिसलाई २–१ ले पराजित गरेको छ ।

७८औं मिनेटमा रुवेन कास्ट्रोले पेनाल्टीमा गोल गरेपछि बेटिसले अग्रता लिएको थियो । जाभी फ्युगोले एन्टोनियो सानाबरियामाथि खराब फाउल गरेपछि बेटिसले पेनाल्टीको अवसर पाएको थियो ।

८७औं मिनेटमा जेरार्ड मोरियानोको पासमा फ्युगोले गोल गर्दै स्पानियोललाई खेलमा फर्काएका थिए ।

खेलको अन्तिम मिनेटमा अल्भारो भाजक्युजको पासमा जोसे एन्टोनियो रेइसले गोल गर्दै स्पानियोलको जित पक्का गरेका थिए ।

यस जितपछि ४३ अंक जोडेको स्पानियोल नवौं स्थानमा उक्लिएको छ भने ३१ अंक जोडेको बेटिस १३औं स्थानमा छ ।

 

 

 

 

 

प्रकाशित: २० चैत्र २०७३ ०१:३६ आइतबार

भिलारियलको लक्ष्यमा धक्का