खेल

गल्ती दोहोरिँदा नेपाल पराजित

काठमाडौं– फिलिपिन्सविरुद्ध लगातार हारको शृखला रोक्ने नेपालको प्रयास मंगलबार पनि सफल हुन सकेन। एएफसी एसिया कप २०१९ को छनोटअन्तर्गत मंगलबार फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल रंगशालामा घरेलु टोलीसँग कम्तीमा अंक बराबरी गर्ने नेपालको लक्ष्य ४–१ को हारसँगै असफल भयो।

फिलिपिन्सविरुद्ध नेपालको यो पाँचौं भेट हो । यसअघि जितका साथ फिलिपिन्सविरुद्धको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा सुरु गरेको नेपालले तीन खेलमा पराजय भोगेको छ  । २०१४ अप्रिल र नोभेम्बरमा गरी दुई पटक कतारको दोहामा सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फिलिपिन्ससँग नेपालले ३–० को पराजय बेहोरेको थियो । यसअघि २०११ मा दुई टोलीबीच भेट हुँदा पनि फिलिपिन्स ४–० ले विजयी भएको थियो। १९८२ मा दुई टोली पहिलो पटक आमनेसामने हुँदा हासिल गरेको १–० को जित नेपालको फिलिपिन्सविरुद्ध अहिलेसम्मको एउटै मात्र सफल नतिजा हो ।

फिलिपिन्सविरुद्ध सफलता हासिल गर्न नेपाललाई कमभन्दा कम गल्ती गर्नुपर्ने थियो । तर विगतकै जस्ता गल्तीले निरन्तरता पाउँदा मंगलबार पनि खेल सकिँदा नेपाल १० खेलाडीमा सीमित थियो ।

नेपालका प्रशिक्षक ग्याटुको कोजीले टोलीबाट लगातार गल्ती भैरहँदा हार भोग्नुपरेको बताए । ‘हामी खेलमा सम्हालिन पाएनौं । सुरुदेखि एकपछि अर्को गल्ती थपिँदै गयो । आज यस्तो नतिजाको अपेक्षा गरेका थिएनौं,’ कोजीले भने, ‘तर सुरुदेखि अप्ठ्यारोमा परेको टोलीले जस्तो खेल्यो त्यसमा म खुसी छु।’

कप्तान विराज महर्जनको अनुपस्थितिमा नेपालका जापानी प्रशिक्षक कोजीले नेतृत्वको जिम्मेवारी त्रिभुवन आर्मी क्लबका स्ट्राइकर भरत खवासलाई दिएका थिए ।

पछिल्लो पटक तीन वर्षअघि दोहामा सम्पन्न फिलिपिन्सविरुद्धको खेलमा हार भोग्दा पनि नेपालले यस्तै गल्ती गरेको थियो । अनावश्यक रातो कार्डका कारण १० जनामा सीमित भएर मैदान छाडेको नेपालले निर्धारित समयको खेलमा सन्तोषजनक प्रदर्शन गरेको थियो । तर ३ मिनेटको इन्जुरी समयमा चनाखो हुन नसक्दा नेपालले २ गोलको सामना गरेको थियो । 

फिफा विश्व वरीयताक्रममा आफूभन्दा ४६ स्थान माथि रहेको विपक्षीविरुद्धको खेलमा नेपालको सुरुआत राम्रो हुन सकेन । फिलिपिन्स फिफा वरीयताक्रमको १ सय २४औं स्थानमा छ भने नेपाल १ सय ७०औं स्थानमा छ । कप्तान योङ हस्ब्यान्डको दुई गोलप्रेरित घरेलु टोलीले पहिलो हाफमा खेल ३–१ ले आफ्नो पक्षमा पारेको थियो । नेपालका लागि इन्जुरी समयमा विशाल राईले एक गोल फर्काएर पुनरागमनको आधार बनाए पनि त्यो पर्याप्त भएन ।

विक्रम लामाले हाभियर पाटिनोको प्रहारमा पोस्टतर्फ लक्षित बल हातले रोकेबापत १२औं मिनेटमै रातो कार्ड दर्शन गरेपछि नेपाल अधिकांश समय १० खेलाडीमा सीमित भएर संघर्ष गर्न बाध्य भयो । लामाले रातो कार्ड सामना गर्दा फिलिपिन्सले भने पेनाल्टीको अवसर पाएको थियो । गोलकिपर किरण चेम्जोङको उत्कृष्ट बचाउका कारण फिलिपिन्स त्यो अवसरमा अग्रता लिन सफल भएन । योङहस्ब्यान्डको प्रहार बचाउँदै किरणले नेपालको आधार जोगाइराखे ।

तर त्यसको ९ मिनेटपछि पाएको पेनाल्टीमा घरेलु टोलीका कप्तानले कुनै गल्ती गरेनन् । नेपालका रक्षक रविन श्रेष्ठले माइक अटमाथि फाउल गर्दा फिलिपिन्सले खेलमा दोस्रो पटक पेनाल्टीको अवसर पाएको थियो । दोस्रो पटक प्राप्त पेनाल्टीमा योङहस्ब्यान्डले नै गरेको प्रहार गोलमा परिणत भएपछि घरेलु टोलीले अग्रता लियो । दुई मिनेटको बीचमा टोलीको अग्रता दोब्बर पार्ने क्रममा योङहस्ब्यान्डले २३औं मिनेटमा पनि नेपाली रक्षापंक्तिलाई असफल पारे । पेनाल्टी बक्सभित्र हूलमूलको फाइदा उठाउँदै उनले प्रहार गरेको बल किरणलाई कुनै मौका नदिई गोलमा परिणत भएको थियो । लगत्तै चार मिनेटपछि इयान रामसेले गोल गरेपछि फिलिपिन्स ३–० ले अघि बढ्यो । फ्रि–किकबाट आएको बललाई नेपाली रक्षापंक्तिले क्लियर गर्न नसक्दा रामसेको प्रहार गोलमा परिणत भएको थियो ।

तीन गोल खाइसकेपछि दोस्रो हाफमा नेपालले सम्हालिएर खेल्ने प्रयास गरे पनि अंक लिने भ्रमणकारी टोलीको योजना सफल भएन । जहाँ समय सकिन १८ मिनेट बाँकी रहँदा पाटिनोले गोल गर्दै घरेलु टोलीको जितअन्तर बढाए । 

फिलिपिन्स प्रशिक्षक थोमस डुलेले आफ्ना खेलाडीले योजनाअनुसार खेलेको बताए । ‘खेलाडीले रणनीतिअनुसार खेले । हाफ हुनुअघि आफ्नै गल्तीका कारण गोलको सामना ग¥यांै,’ उनले भने, ‘डिफेन्सको गल्ती थियो । त्यसको फाइदा नेपालले लिन सफल भयो । खेलको अन्त्यमा फराकिलो जित हात लागेको छ । नेपालका लागि अनपेक्षित नतिजा होला । तीन अंक हाम्रा लागि महत्वपूर्ण छ । यसले आगामी खेलमा सहयोग गर्छ ।’

हारसँगै एएफसी एसिया कप छनोटको सुरुआत गरेको नेपालले समूह ‘एफ’ मा दोस्रो खेल यमनसँग जुन १३ मा घरेलु मैदानमा खेल्नेछ । होम एन्ड अवे पद्धतिमा समूहका सबै विपक्षीसँग राउन्ड रोबिन लिगअन्तर्गत खेल्नुपर्ने छनोटमा त्यसपछि नेपालले सेप्टेम्बर ५ मा अर्को घरेलु खेलका लागि ताजिकिस्तानलाई निम्त्याउनेछ । अक्टोबर १० मा ताजिकिस्तानको भ्रमण गर्ने नेपालले नोभेम्बर १४ मा फिलिपिन्सलाई आतिथ्य प्रदान गर्नेछ । समूह चरणको अन्तिम खेलका लागि नेपालले अर्को वर्षको मार्च २७ मा यमनको भ्रमण गर्नेछ ।

भुइँचालोले क्षतिग्रस्त दशरथ रंगशाला निर्माण सुस्त गतिमा भइरहेकाले नेपालले आफ्ना घरेलु खेल हलचोकस्थित एपिएफको मैदान, सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टर वा लगनखेलको आर्मी मैदानमा गराउने सम्भावना छ। 

 

प्रकाशित: १६ चैत्र २०७३ ०२:१९ बुधबार

गल्ती दोहोरिँदा नेपाल पराजित